— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ ।
विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ७–५ ले पराजित गरेका हुन् । यस्तै सर्वियाली खेलाडी जोकोभिचले अर्को पाँच सेटको कडा प्रतिस्पर्धात्मक सेमिफाइनलमा यानिक सिनरलाई ३–६, ६–३, ४–६, ६–४, ६–४ ले हराए ।
जितपछि स्पेनिस स्टार अल्कारेजले आफ्नो खेलमाथि विश्वास भएकै कारण अहिलेसम्मकै सबैभन्दा कठिन जित्न सकेको बताए । तेस्रो सेटमा ४–४ को बराबरीमा स्थितिमा अल्कारेज पीडामा देखिएका थिए । उनको मांसपेसीमा समस्या देखिएको थियो । त्यस स्थितिमा उनलाई उपचारको अवसर दिइएको थियो । त्यहीं निहुँमा जेभरेभले खेल अधिकारीसँग बहस पनि गरे । टेनिसमा मासु फर्केकै कारण मात्र मेडिकल टाइमआउटको अवसर भने दिइन्न । अल्कारेजले त्यसपछि आफ्नो खेल जारी राखे, तर पूरा प्रतियोगितामै पहिलो पटक सेट गुमाए ।
आफू शतप्रतिशत स्वस्थ नभए पनि २२ वर्षीय अल्कारेजले हरेस खाएनन् र पाँचौं तथा निर्णायक सेट जिते । यससँगै जर्मन खेलाडी जेभरेभको पहिलो ग्रान्ड स्लाम जित्ने सपना अधुरै रह्यो । खेलपछि अल्कारेजले भने, ‘पूरा खेल अवधिमा मलाई आफूमाथि विश्वास थियो ।’ उनी लगातार चौथो पटक र समग्रमा आठौं पटक ठूलो प्रतियोगिताको फाइनल पुगेका
हुन् । उनले थपे, ‘स्थिति जस्तै प्रतिकूल होस्, आफूमाथिको विश्वास डगमगाउनु हुन्न । तेस्रो सेटको बीचमा मलाई गाह्रो भएको थियो । यो मेरो खेल जीवनको अहिलेसम्मकै सबैभन्दा कठिन खेल रह्यो ।’ खेलमा अल्कारेजले ५ घन्टा २७ मिनेट खर्चिएका थिए ।
अल्कारेजले अहिलेसम्म दुई फ्रेन्च ओपन, दुई यूएस ओपन र दुई विम्बल्डन उपाधि जितेका छन् । तर मेलबर्नमा उपाधि जित्न सकेका थिएनन् । आइतबार हुने फाइनलमा उनी विजयी रहे आधुनिक टेनिसमा स्पेनकै राफेल नडालपछि चारै ग्रान्ड स्लाम उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् । नडालले यस्तै उपलब्धि २४ वर्षको उमेरमा हात पारेका थिए ।
पूर्व च्याम्पियन जोकोभिचले भने सिनरविरुद्ध लगातार पाँच हारपछि अहिले जित निकालेका हुन् । उनले सिनरलाई त्यस अगाडि अन्तिम पटक सन् २०२३ मा हराएका थिए । जोकोभिचले यो जितका लागि ४ घण्टा ९ मिनेट खर्चे । अब उनीसामु कीर्तिमान २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अवसर हुनेछ । अहिले भने उनी सन् २०२४ यता पहिलो पटक ग्रान्ड स्लाम फाइनल पुगेका हुन् ।
त्यतिबेला उनले विम्बल्डनको उपाधि भिडन्तमा आफ्नो चुनोती पेस गरेका थिए । उनले अन्तिम पटक ग्रान्ड स्लाम उपाधि जितेको भने सन् २०२३ को यूएस ओपन हो । यसपल्टको अस्ट्रेलियन ओपन फाइनल भने उनको ११ औं हुनेछ । -(एएफपी)