— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको ६ महिनामा भने सातथरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको ६ महिनामा ३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।
त्यस्तै सोही अवधिमा १ अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको ६ महिनामा १ अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।
त्यसैगरी, १ अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोडबराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।