मुख्य समाचार
सरकारले जारी गर्‍यो निपाह भाइरस परीक्षण निर्देशिका
सरकारले जारी गर्‍यो निपाह भाइरस परीक्षण निर्देशिका

— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण मिल्दोजुल्दो छ, जसको पनि परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ‘परीक्षणका लागि शंकास्पद बिरामी पहिचानदेखि परीक्षणको मापदण्ड बनाएका छौं ।’

गत साता भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगनामा दुई जनामा निपाह भाइरस पुष्टि भएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय रोग नियन्त्रण केन्द्रले दुई जनामा संक्रमण पुष्टि हुनासाथ उच्च सावधानी अपनाइएको र थप केसहरू फेला नपरेको जनाएको छ ।

साथै संक्रमित दुई जनाको सम्पर्कमा आएका १९६ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा भाइरसको संक्रमण देखिएको पनि केन्द्रले जनाएको छ । ‘शंका लागेकाहरूलाई निगरानीमा राख्ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गरिनुका साथै निरन्तर निगरानी गरिएको र सार्वजनिक स्वास्थ्यका सबै आवश्यक उपायहरू अवलम्बन गरिएको छ’ केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


पश्चिम बंगालको सीमा कोशी प्रदेशसँग जोडिएले नेपालमा पनि उच्च जोखिमको सम्भावना रहेको औंल्याउँदै परीक्षणको व्यवस्था गर्न माग भएको थियो । नेपालमा पनि जोखिम भएकाले सतर्कता अपनाउन सर्कुलर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन कारणले नेपालमा संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयका चिकित्सकहरू बताउँछन् ।

खुला सीमानाकाबाट आउजाउ गर्ने मानिस, फलफूल खाने चमेरो र सुँगुरलगायत घरपालुवा जनावर यता पनि पाइने हुँदा उच्च जोखिम रहेको जनाइएको छ । ‘उच्च जोखिम छ । तर यहाँ फैलिसकेको छैन । अहिलेसम्म नेपालमा भित्रिएको पुष्टि पनि भएको छैन । शंकास्पद व्यक्ति पनि फेला परेका छैनन्,’ डा. बुढाथोकीले भने । यद्यपि भारतमा भाइरल फैलिएकाले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



भाइरस फैलिन सक्ने जोखिमको आकलन गरेर पूर्वतयारी र प्रतिकार्यको तयारी गरिएको उनले बताए । ‘सीमानाका, हवाई नाकामा निगरानी बढाइएको छ । स्वास्थ्यका हेल्प डेक्सहरू सक्रिय पारिएको छ,’ उनले भने, ‘केन्द्रदेखि प्रदेश अस्पतालमा पीसीआर ल्याब, परीक्षण किट, स्वास्थ्यकर्मीको व्यवस्था र औषधि भण्डार गरिएको छ ।’

परीक्षण निर्देशिकामा एक सातासम्म रुघाखोकी निको नभए वा श्वासप्रश्वासमा समस्या देखिए त्यस्ता बिरामीलाई शंकास्पद रूपमा हेर्नुपर्ने उल्लेख छ । ‘भारतको पश्चिम बंगाल आसपासबाट आएको व्यक्ति वा त्यहाँका व्यक्तिसँग भौतिक रूपमै सम्बन्ध (भेटघाट) भएको व्यक्तिलाई शंकास्पद रूपमा लिएर परीक्षण गर्नु भनेका छौं,’ उनले भने ।

त्यस्ता शंकास्पद व्यक्ति भेटिए कोभिड महामारीको बेला बनाइएको क्वारेन्टाइनमा राखी परीक्षण गर्न मन्त्रालयले सर्कुलर गरेको छ । निर्देशिकामा भनिएको छ, ‘शंकास्पद निपाह केसहरू ती व्यक्तिहरू हुन्, जसको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ वा मृत्यु भएको छ । जसमा ज्वरोसँगै सास फेर्न गाह्रो हुने लक्षणहरू देखिन्छन् । त्यस्ता व्यक्तिहरूसँग महामारी विज्ञानको सम्बन्ध पनि हुनुपर्छ, जस्तै काँचो खजुरको रस पिउने, संक्रमित जनावरहरू, विशेष गरी चमेरोसँग सम्पर्कमा रहेका र निपाहको स्थानीय क्षेत्रहरूमा यात्रा गर्ने इतिहास भएको हुनुपर्छ ।’

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया ३ देखि १४ दिन ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्छन् । केही व्यक्तिहरूले मस्तिष्क सुन्निने वा इन्सेफ्लाइटिस पनि अनुभव गर्ने संगठनले जनाएको छ ।

गम्भीर लक्षणहरूमा भ्रम, निद्रा लाग्ने, मूर्च्छा पर्न सक्ने र केही बिरामीहरू २४ देखि ४८ घण्टाभित्र कोमामा जान सक्ने औंल्याइएका छन् । मृत्युदर ४०–७० प्रतिशत रहेको संगठनको भनाइ छ । यसअघि विभागले देशभरका अस्पतालहरूलाई अचानक बिरामीको मृत्यु र निपाह भाइरस जस्तै लक्षणहरू देखिएका बिरामीबारे जानकारी दिन निर्देशन दिएको थियो ।

निपाह भाइरस पहिलो पटक १९९९ मा पहिचान भएको थियो । सुँगुरसँग नजिकको सम्पर्क भएका सिंगापुर र मलेसियाका किसानहरूमा भेटिएको थियो । त्यतिबेला ३ सय जना संक्रमित भएको र तीमध्ये एक सय जनाको मृत्यु भएको रिपोर्ट छ । भारतको पश्चिम बंगालमा २००१ मा पुष्टि भएको थियो । ६६ जनामा भाइरस पुष्टि भएको थियो । ४५ जनाको मृत्यु भएको तथ्यांक छ । २००७ मा पनि पश्चिम बंगालमा ५ जना संक्रमित भेटिएका थिए । २०१८ मा भारतको केरलामा भाइरस फैलिएको थियो । त्यतिबेला संक्रमणका कारण १७ जनाको मृत्यु भयो । पश्चिम बंगालमा १९ वर्षपछि भाइरस पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू ...
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...