मुख्य समाचार
सरकारले जारी गर्‍यो निपाह भाइरस परीक्षण निर्देशिका
सरकारले जारी गर्‍यो निपाह भाइरस परीक्षण निर्देशिका

— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण मिल्दोजुल्दो छ, जसको पनि परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ‘परीक्षणका लागि शंकास्पद बिरामी पहिचानदेखि परीक्षणको मापदण्ड बनाएका छौं ।’

गत साता भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगनामा दुई जनामा निपाह भाइरस पुष्टि भएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय रोग नियन्त्रण केन्द्रले दुई जनामा संक्रमण पुष्टि हुनासाथ उच्च सावधानी अपनाइएको र थप केसहरू फेला नपरेको जनाएको छ ।

साथै संक्रमित दुई जनाको सम्पर्कमा आएका १९६ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा भाइरसको संक्रमण देखिएको पनि केन्द्रले जनाएको छ । ‘शंका लागेकाहरूलाई निगरानीमा राख्ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गरिनुका साथै निरन्तर निगरानी गरिएको र सार्वजनिक स्वास्थ्यका सबै आवश्यक उपायहरू अवलम्बन गरिएको छ’ केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


पश्चिम बंगालको सीमा कोशी प्रदेशसँग जोडिएले नेपालमा पनि उच्च जोखिमको सम्भावना रहेको औंल्याउँदै परीक्षणको व्यवस्था गर्न माग भएको थियो । नेपालमा पनि जोखिम भएकाले सतर्कता अपनाउन सर्कुलर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन कारणले नेपालमा संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयका चिकित्सकहरू बताउँछन् ।

खुला सीमानाकाबाट आउजाउ गर्ने मानिस, फलफूल खाने चमेरो र सुँगुरलगायत घरपालुवा जनावर यता पनि पाइने हुँदा उच्च जोखिम रहेको जनाइएको छ । ‘उच्च जोखिम छ । तर यहाँ फैलिसकेको छैन । अहिलेसम्म नेपालमा भित्रिएको पुष्टि पनि भएको छैन । शंकास्पद व्यक्ति पनि फेला परेका छैनन्,’ डा. बुढाथोकीले भने । यद्यपि भारतमा भाइरल फैलिएकाले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



भाइरस फैलिन सक्ने जोखिमको आकलन गरेर पूर्वतयारी र प्रतिकार्यको तयारी गरिएको उनले बताए । ‘सीमानाका, हवाई नाकामा निगरानी बढाइएको छ । स्वास्थ्यका हेल्प डेक्सहरू सक्रिय पारिएको छ,’ उनले भने, ‘केन्द्रदेखि प्रदेश अस्पतालमा पीसीआर ल्याब, परीक्षण किट, स्वास्थ्यकर्मीको व्यवस्था र औषधि भण्डार गरिएको छ ।’

परीक्षण निर्देशिकामा एक सातासम्म रुघाखोकी निको नभए वा श्वासप्रश्वासमा समस्या देखिए त्यस्ता बिरामीलाई शंकास्पद रूपमा हेर्नुपर्ने उल्लेख छ । ‘भारतको पश्चिम बंगाल आसपासबाट आएको व्यक्ति वा त्यहाँका व्यक्तिसँग भौतिक रूपमै सम्बन्ध (भेटघाट) भएको व्यक्तिलाई शंकास्पद रूपमा लिएर परीक्षण गर्नु भनेका छौं,’ उनले भने ।

त्यस्ता शंकास्पद व्यक्ति भेटिए कोभिड महामारीको बेला बनाइएको क्वारेन्टाइनमा राखी परीक्षण गर्न मन्त्रालयले सर्कुलर गरेको छ । निर्देशिकामा भनिएको छ, ‘शंकास्पद निपाह केसहरू ती व्यक्तिहरू हुन्, जसको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ वा मृत्यु भएको छ । जसमा ज्वरोसँगै सास फेर्न गाह्रो हुने लक्षणहरू देखिन्छन् । त्यस्ता व्यक्तिहरूसँग महामारी विज्ञानको सम्बन्ध पनि हुनुपर्छ, जस्तै काँचो खजुरको रस पिउने, संक्रमित जनावरहरू, विशेष गरी चमेरोसँग सम्पर्कमा रहेका र निपाहको स्थानीय क्षेत्रहरूमा यात्रा गर्ने इतिहास भएको हुनुपर्छ ।’

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया ३ देखि १४ दिन ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्छन् । केही व्यक्तिहरूले मस्तिष्क सुन्निने वा इन्सेफ्लाइटिस पनि अनुभव गर्ने संगठनले जनाएको छ ।

गम्भीर लक्षणहरूमा भ्रम, निद्रा लाग्ने, मूर्च्छा पर्न सक्ने र केही बिरामीहरू २४ देखि ४८ घण्टाभित्र कोमामा जान सक्ने औंल्याइएका छन् । मृत्युदर ४०–७० प्रतिशत रहेको संगठनको भनाइ छ । यसअघि विभागले देशभरका अस्पतालहरूलाई अचानक बिरामीको मृत्यु र निपाह भाइरस जस्तै लक्षणहरू देखिएका बिरामीबारे जानकारी दिन निर्देशन दिएको थियो ।

निपाह भाइरस पहिलो पटक १९९९ मा पहिचान भएको थियो । सुँगुरसँग नजिकको सम्पर्क भएका सिंगापुर र मलेसियाका किसानहरूमा भेटिएको थियो । त्यतिबेला ३ सय जना संक्रमित भएको र तीमध्ये एक सय जनाको मृत्यु भएको रिपोर्ट छ । भारतको पश्चिम बंगालमा २००१ मा पुष्टि भएको थियो । ६६ जनामा भाइरस पुष्टि भएको थियो । ४५ जनाको मृत्यु भएको तथ्यांक छ । २००७ मा पनि पश्चिम बंगालमा ५ जना संक्रमित भेटिएका थिए । २०१८ मा भारतको केरलामा भाइरस फैलिएको थियो । त्यतिबेला संक्रमणका कारण १७ जनाको मृत्यु भयो । पश्चिम बंगालमा १९ वर्षपछि भाइरस पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...
— राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भण्डारी र देवसहित तत्कालीन निर्देशक ...
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...