मुख्य समाचार
दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी
दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी

— नेकपा संयोजक पुष्पकमल दाहालले सत्ताको भागबण्डामा सहभागी नहुने बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी गरेका हुन् ।

'आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन। यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेन-जीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरु एउटै हुन्। तर म आज यो सार्वजनिक मञचबाट प्रस्ट भन्न चाहन्छु। म ती पुराना नेताहरूको भीडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न जसले देशलाई बन्धक बनाएर राखेको छ,' दाहालले भनेका छन् ।

दाहालले परिवारका सदस्य मात्र नभई हजारौँ सहयोद्धा र सहयात्रीलाई पनि गुमाएको उल्लेख गरेका छन् । व्यक्तिगत त्याग र संघर्षको भावना आफ्नो खुला किताबजस्तै भएको पनि उनको भनाइ छ । सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको दाहालको भनाइ छ । 'म त्यो पिता हुँ जसले आफ्नै आँखाअगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्‍यो । म त्यो श्रीमान् हुँ जसको जीवन संगिनीले बीच बाटोमै साथ छोडेर गइन्,' उनले भने ।

परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने पनि उनले उल्लेख गरेका छन् । अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शिता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि दाहालको भनाइ छ । उनले अगाडि भनेका छन्, 'मैले लामो समयदखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्दछ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो त्यो हामी सबैले देखेका छौँ भोगेका छौँ। त्यसैले म भन्छु मेरो माग र तपाईहरुको माग एउटै हो ।'

दाहालले सम्बोधनका क्रममा हलिउड फिल्म 'द डार्क नाइट'(२००८) को हार्भे डेन्ट नामक पात्रको संवादसमेत उल्लेख गरेका छन् । 'म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ । हलिउडमा एउटा चर्चित संवाद छ या त तिमी नायकका रूपमा मर या त आफूलाई खलनायक बनेको हेर्न जीवित रह,' क्रिस्टोफर नोलन निर्देशित फिल्मको संवाद उल्लेख गर्दै दाहालले भने । उनले आफू खलनायकका रूपमा बिदा हुन नचाहेको उल्लेख गर्दै भनेका छन्, 'यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला तर म खलनायक बनेर इतिहासको पानामा हराउनन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। तपाईंहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ यो तपाईंहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नु हुनेछ ।'


आफू नयाँ विचारहरूका लागि सधैं खुल्ला रहेको पनि उनले बताएका छन् । 'म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसात गर्न तयार छौ। तर एउटा कुरा याद राख्नुस् हरेक चम्किलो चिज हिरा हुँदैन। आजको यो डिजिटल युगमा सामाजिक संजालका भ्रमहरूले तपाईंहरूलाई बहकाउन सक्छन्। कसैले तपाईंहरूलाई सानो महसुस गराउन नदिनुस्,' उनले भनेका छन् । उनले आम नागरिकलाई स्वतन्त्र चिन्तनका लागि अपिल गरेका छन् ।

'प्रश्न सोध्न नछोड्नुस्। म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुस् म त्यसको सामना गर्न तयार छु । किनकि मलाई थाहा छ। मेरो शक्तिको स्रोत तपाईँहरु नै हो,' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...