मुख्य समाचार
प्रदेश सरकारले गरेको निर्णय निजामती कर्मचारीले कार्यान्वयन गर्न हिचकिचाएकाले काम गर्न समस्या भएको
प्रदेश सरकारले गरेको निर्णय निजामती कर्मचारीले कार्यान्वयन गर्न हिचकिचाएकाले काम गर्न समस्या भएको

— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गरेको निर्णय निजामती कर्मचारीले कार्यान्वयन गर्न हिचकिचाएकाले काम गर्न समस्या भएको बताएका छन् ।

बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले प्रदेशसभाका सदस्यहरुको स्वकीय सचिवहरुलाई मासिक तलब उपलब्ध गराउने निर्णय गरेको भए पनि कर्मचारीका कारण कार्यान्वयनमा आउन नसकेकोमा आक्रोश व्यक्त गरेका हुन् । संघीय सरकारको पत्र देखाएर प्रदेश सरकारको निर्णयलाई कर्मचारीहरुले लत्याउने गरेको भन्दै उनले चर्को असन्तुष्टि व्यक्त गरे । 'कुनै पनि सरकारलाई सफल र असफल बनाउने काम कर्मचारीहरुको भूमिकामा निर्भर रहन्छ,' उनले भने ।

नेताहरुको बोली र व्यवहारमा फरक देखिएकाले लोकतान्त्रिक व्यवस्थाप्रति नै चुनौती थपिएको उनले बताए । निर्वाचनको विकल्प नभएकाले राजनीतिक दललगायत सबै क्षेत्र अब निर्वाचनमा होमिनु पर्ने बताउँदै उनले भने,‘अब निर्वाचन हुन्छ कि हुँदैन भनेर शंका गर्ने बैला छैन ।'

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उद्घाटन गरेको वार्षिकोत्सव समारोहको अवसरमा विपक्ष दलका नेता एवं प्रदेशका पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठक बोलाउन र सभामुखको निर्वाचन गर्न माग गरे ।

उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा संचालित कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र साविकको एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मालगायतले बोलेका थिए । उक्त अवसरमा प्रदेशसभा दर्पण पुस्तक विमोचन गरिएको थियो ।

संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रुपमा रहेको बागमती प्रदेशसभा स्थापना भएको आइतबार आठ वर्ष पूरा भएको छ । २०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको प्रदेशसभाले कानुन निर्माणमा सक्रियता देखाए पनि बनेका कानुनको कार्यान्वयन, संसद्‍मा हुने छलफलको गुणस्तर र विधायिकी भूमिकाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रदेश सरकार संचालनका लागि आवश्यक ठानिएका ९९ कानुनमध्ये हालसम्म प्रदेशसभाबाट ९० वटा विधेयक पारित भएका छन् । तीमध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा पुगेका छन् । प्रदेश चिठ्ठा सम्बन्धी एक विधेयक भने संसद्‍बाट पारित भएर पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नपाउँदा कार्यान्वयनमा आउन सकेको छैन । उक्त विधेयक हाल पुनः प्रदेशसभामै विचाराधीन अवस्थामा छ । यसबाहेक तीन वटा विधेयक सभा, समिति र सचिवालय तहमा छलफलको चरणमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।



प्रदेशसभाले आठौं वार्षिकोत्सव मनाइरहँदा यसबीचमा नीतिगत चुनौतीसँगै प्रदेशसभाले गम्भीर भौतिक क्षति पनि व्यहोर्नुपरेको छ । २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा प्रदेशसभा संरचनामा ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँबराबरको क्षति भएको सचिवालयले जनाएको छ । आफ्नै भवन प्रयोग गर्न नसक्दा हाल हेटौंडा उपमहानगरपालिकाको परिसरमा रहेको हलमा अस्थायी रुपमा प्रदेशसभाका बैठक सञ्चालनको तयारी भइरहेको छ । हललाई सामान्य मर्मत गरी टेबल, कुर्सी, माइक र आवश्यक इलेक्ट्रोनिक्स सामग्री जडान गरेर सभा संचालनको तयारी गरिएको उपसभामुख चापागाईंले बताइन् ।

सुरुआतमा ११० सदस्यीय रहेको प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ६ जना सांसदले राजीनामा दिएपछि हाल सदस्य संख्या १०४ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...