— दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।
दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी भएको थियो । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका हुन् । कार्की डाइपर उत्पादन गर्ने कारखानामा आंशिक समयमा मात्रै काम गर्ने गरेको खुलेको छ । उनी पढ्न कोरिया पुगेका हुन् ।
आगलागीपछि उनी सम्पर्कविहीन बनेको उनीसँगै बस्दै आएका सन्दीप राउतले बताए ।
दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार विद्यार्थी भिसामा कार्की कोरिया पुगेका थिए । कारखानामा २० वर्षीय कार्कीसहित काजकास्तानका ५० वर्षीय नागरिक पनि सम्पर्कविहीन छन् । जलेर पहिचान खुल्न नसक्ने अवस्थामा दुई जनाको शव सोही कारखानाबाट निकालिएको छ । शवको डीएनए परीक्षणका लागि स्थानीय अस्पतालमा लगिएको दूतावासले जनाएको छ ।
कोरियाली सञ्चारमाध्यमका अनुसार अग्नि नियन्त्रकहरूले आगलागीलाई पूर्ण रूपमा नियन्त्रण गर्न २१ घण्टा लागेको थियो । घटनाका बेला कारखानाभित्र ८३ जना कार्यरत थिए । जसमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । दुई जनाको शव मध्यरात १२ः३९ बजे भवनको दोस्रो तल्लाको सिँढीमा फेला परेको थियो ।
प्रारम्भिक मूल्यांकनअनुसार करिब २४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको परिसरभित्रका पाँचमध्ये तीनवटा भवन आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएका छन् । आगोका झिल्का करिब ५ सय मिटर टाढा रहेको नजिकैको जंगलयुक्त डाँडासम्म फैलिँदा करिब एक हजार वर्गमिटर वन क्षेत्र जलेको छ ।