— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिससा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले लडाइँ देश जलाउने कि देश बनाउनेहरुको बीचमा रहेको बताए । रास्वपा उद्देश्य र विचार बिनाका पार्टी भएकाले देश बिगार्न मात्रै जानेको आरोप लगाए ।
'अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन । यी बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यी बतासका खेती गरिरहेका छन्, यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन,' उनले भने ।
अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको आरोप लगाए । उनले भने, 'आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनी गर्न जानेको छ ।’
शाह झापा-५ मा आफूसँग ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गरे । उनले भने, 'मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन ।'
एमाले देश बनाउने शक्ति भएको बताउँदै उनले देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताए । उनले भने, ‘अहिलेको लडाइँ देश जलाउने कि देश बनाउनेहरुको बीचमा छ । हामी देश बनाउने शक्ति हौं । अरु देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरुले स्वीकारिसके हामी हौं भनेर । अब भविष्यमा देश जलाउँदै जाने कि बनाउँदै जाने ?'