— तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष प्रत्यासी मुनिलाल खंग (खत्वे) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका छन् ।
तत्कालीन जमुनी मधेपुरा गाविसका अध्यक्षसमेत उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा चुनाव लड्दा १ हजार १ सय ८३ मत ल्याएका थिए ।
त्यसबेला जसपा नेपालकै उमेशप्रसाद यादवले ३ हजार १ सय ६४ मत ल्याएर निर्वाचित हुँदा खंग चौथो स्थानमा पुगेका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता खंग दुई दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए । सप्तरी क्षेत्र नं.३ मा रास्वपाबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले पार्टीमा प्रवेश गराएको दुई दिनमै उनी जसपा नेपालमा प्रवेश गरेका छन् ।
शनिबार जमुनी मधेपुरमा आयोजित कार्यक्रममा खंगलाई क्षेत्र नं.३ का उम्मेदवारसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।