— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ ।
अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।
कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको छ ।
२०२६ को पहिलो महिनामा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारत शीर्ष स्थानमा रहेको छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जसले कुल आगमनको २८.८ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत विश्लेषणअनुसार दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । त्यस्तै, मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको योगदान ४.५ प्रतिशत रहेको छ ।