। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् ।
काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् ।
प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले शक्ति दुरूपयोग रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न पूर्णरूपमा तटस्थ, व्यावसायिक र कानून अनुसार मात्र परिचालन हुन निर्देशन पनि दिए ।
उनले कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न नपाउने स्पष्ट पार्दै विगतमा जस्तै प्रहरीले यसपटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।