: प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन हुने बताएकी छन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताएकी छन् ।
उनले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले जिम्मेवारीमा ल्याएको बताएकी छन् । कार्कीले भनिन्, ‘म कुनै शासकीय आकांक्षा बोकेर पदको लोभमा प्रधानमन्त्री भएको होइन । बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई संकटबाट बचाउनका लागि विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ ।’
उनले उम्मेदवारी दर्ता भइसकेको भन्दै राज्यको स्रोत साधन निर्वाचनमा केन्द्रित भएको जानकारी गराइन् । उनले भनिन्, ‘आन्दोलनमा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराइएको छ । एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’
उनले निर्वाचन आचारसंहिता पालन गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने वातावरण बनाउन आह्वान गरिन् । उनले भनिन्, ‘मेरो छोटो कार्यकालको यो अन्तिम चरणमा म के विश्वास दिलाउन चाहन्छु भने, हामीले भत्किएका संस्थाहरूलाई सुव्यवस्थाले जोडेका छौं र एउटा नयाँ आशाको बिउ रोपेका छौं ।’