: दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडि सवार लमही नगरपालिका–६ का २२ वर्षीय अंकित चौधरीलाई ट्रकले ठक्कर दिएको हो।
लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले घोराही–१५ भिंग्रेली होटेल नजिकै ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको दाङ प्रहरीले बताएको छ।
प्रहरीका अनुसार अंकितका बुवा ५३ वर्षीय झपेन्द्र बहादुर चौधरी घाइते भएका छन्। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ घटनामा संलग्न रहेको आशंकामा एक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।