: एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग चुनावी सहकार्य नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पत्रकारसँग उनले भदौ २४ गते भएको प्रतिगमनलाई नेकपा र एमालेको दृष्टिकोण फरक भएकाले तत्काल चुनावी तालमेल नहुने बताएका हुन्।
उनले भने, ‘एमाले र नेकपाबीच भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै छैन। हामीले प्रतिगमन भनेका छौं उहाँहरुले क्रान्तिकारी काम भन्नुभएको छ यसले राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो छ। यसले गर्दा तत्काल चुनावी तालमेल हुन सक्दैन। तर राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ। २/४ दिनमै कोर्स परिवर्तन हुन सक्छ भन्ने केही छैन। उहाँले त्यो घटनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुभयो भने सहकार्य हुन सक्छ।’
उनले प्रतिगमनलाई सच्याउन लागि पर्ने दलसँग सहकार्य हुन सक्ने उल्लेख गरे। उनले केही दिनदेखि नेकपाका केही नेताहरूले त्यो आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गरेर बोल्न थालेकाले एमालेको लाइनमा आए सहकार्य हुँदैन भन्न नसकिने धारणा राखे।
गुरुङले चुनावी तालमेल र चुनावपश्चात सरकार निर्माणमा हुने सहकार्यको विषय फरक रहेको उल्लेख गरे।
उनले जनताले अनुभवी र परिपक्क पार्टीलाई जनताले मतदान गर्ने बताए। रास्वपा र त्यसमा आवद्ध नेताहरुसँग कुनै भिजन नभएको बताउँदै उनले मुलुकलाई अगाडि बढाउन ठोस भिजन र सिद्धान्त भएको पार्टी एमाले रहेको बताए।
उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।’
उनले नेपाली कांग्रेसले समेत नयाँ भिजन दिन नसकेको र नयाँ अनुहारमात्र देखाउन खोजेको धारणा राखे। उनले साना कमी कमजोरीलाई देखाएर नेपालको स्वाधीनतामाथि प्रहार हुन लागेको टिप्पणी गरे। उनले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार खोजेका हुन् भन्ने बुझ्नु आवश्यक भएको बताए। गुरुङले सामाजिक सञ्जालमा एमालेले जमेर प्रतिवाद गर्ने हो भने सामाजिक सञ्जालमा पपुलिजममा रहेका आफैँ हट्ने दाबी गरे।