: नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको दाबी गरेका छन्। मंगलबार काठमाडौंमा निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको बताएका हुन्।
‘काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन’ गुरुङले भने, ‘काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथाअवस्थामै छ ।’
लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । ‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरुलाई पुराना भनेर आरोप गरिरहेका छन्’ गुरुङले भने,‘उनीहरु एजेन्डाबिहीन हुन् । त्यही भएर उनीहरू पब्लिक फेस गर्न सकेका छैनन् ।’
कांग्रेसमा विवादका बीच विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति गठन भएको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि संस्थापन पक्ष सर्वोच्च अदालतमा गएको छ।