। नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएको जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको स्पष्ट पारेको हो ।
केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ग्यास अभावका समाचार तथा जनगुनासो आएपछि निगमले यस्तो स्पष्टीकरण दिएको हो ।
निगमले जाडोयामको उच्च माग धान्न पर्याप्त मात्रामा इन्धन आयात भइरहेको बताएको छ । निगमले देशभरिका उद्योगीका लागि मासिक ४९ हजार ५ सय टन ग्यासको कोटा निर्धारण गरेकोमा २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ टन, डिसेम्बर ४८ हजार ५ सय ३१ टन र २०२६ जनवरीमा ४७ हजार ३ सय ४ टन ग्यास आयात भई उपभोक्तामाझ बिक्री वितरण भएको जनाएको छ ।
यो परिमाण जाडो समयको माग सम्बोधन गर्न पर्याप्त रहेको निगमको दाबी छ ।
बजारमा केही सीमित ग्यास उद्योगका सिलिदन्डरमा मात्र सामान्य समस्या देखिएको स्वीकार्दै निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाएर बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको उल्लेख गरेको छ ।
केही उद्योगको व्यवस्थापकीय कारणले देखिएको यो समस्या छिट्टै समाधान हुने र बजारमा सबै ब्रान्डका ग्यास सहजै उपलब्ध हुने निगमले विश्वास दिलाएको छ । आपूर्तिमा देखिएको सामान्य असन्तुलन सम्बोधन गर्न निगमले प्रभावकारी कदम चालिरहेको विज्ञप्तिमा उल्लेख छ ।
फेब्रुअरीका लागि निगमले थप तयारी समेत गरेको जनाएको छ । ‘आसन्न निर्वाचन र वर्तमान माग मध्यनजर गर्दै निगमले फेब्रुअरीका लागि नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा छ, ‘यसका लागि इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ समेत पठाइसकिएको छ ।’
निगमले उपभोक्तालाई ग्यासको कृत्रिम अभाव हुन नदिन र अनावश्यक भण्डारण नगर्न विशेष आग्रह गरेको छ ।