: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गर्न आवश्यक भएको बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था खारेज गरिनु पर्ने बताएका हुन् ।
मन्त्री भण्डारीले एक महिनाभित्र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका सबैखाले ‘सिण्डिकेट’ तोड्ने समेत दावी गरे । उनले मजदुरलाई वाध्यतामा पार्ने खालका सबै कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए । उनले बाहिरबाट हेर्दा ‘फ्रि भिसा–फ्रि टिकट’ को व्यवस्था राम्रो देखिए पनि राजश्व चुहावट, कर छली र संगठित अपराधका गतिविधिलाई बढावा दिइरहेको बताएका छन् ।
हामी श्रमिकमैत्री बन्न नसकेको र यसमा समीक्षा आवश्यक रहेको बताउँदै मन्त्री भण्डारीले अन्तरिम सरकारले वैदेशिक रोजगारीसम्बन्धी कार्यविधि संशोधन गर्न समिति बनाएको जानकारी दिए । उनले यसका लागि सरोकारवालाहरुसँग छलफल गरिरहेको समेत बताए । उनले भने, ‘यस्ता पपुलिस्ट मुद्दालाई लिएर हामी कहिलेसम्म गुमराहमा पर्ने ? त्यसकारण यसलाई खारेज गरौं ।’