— बर्दियामा यसवर्ष भएको चरा गणनामा बढैयाताल बाहेक अन्य सिमसार क्षेत्रमा चराको संख्या बढेको छ । पश्चिम नेपालकै ठूलो ताल मानिएको बढैयातालमा पानी सुक्दै गएपछि जाडो छल्न आउने आगन्तुक पाहुना चरा घट्दै गएका छन् ।
हरेकवर्ष हिउँदमा जाडो छल्न हिमाली भेग लगायत साइबेरियाबाट आउने चरा घट्दै गएको अध्ययनले देखाएको छ । अन्य चराको संख्या घटे पनि सारस बढेको पंक्षी विज्ञ बताउँछन् । गत वर्ष भएको गणनामा बढैयातालमा दुई वटा सारस देखिएकोमा यसवर्ष बढेर सात पुगेको नेपाल पंक्षी विज्ञ संघका अध्यक्ष एंव जल पंक्षी गणनाका बाँके, बर्दिया संयोजक रामबहादुर शाहीले बताए ।
तालमा हरेक वर्ष हिउँदमा आउने सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुले, हुटिट्याउ, लोभीपापी, गरुड हरिहाँस लगायत करिब १५ प्रजातिका चरा प्रायः भेटिँदैनन् । विगतमा तालमा झार मार्ने औषधिको बढ्दो प्रयोग, वर्षेनी हुने वनभोज, महोत्सवमा हुने होहल्ला, अव्यवस्थित रुपमा माछा मार्ने लगायतका कारणले सिमसार क्षेत्रमा पाहुना चरा घटेको स्थानीय बताउँछन् ।
बढैयाताल करिब १ सय ४ हेक्टर क्षेत्रफल रहेको मालपोतको अभिलेखमा छ । धेरै ठाउँ अतिक्रमणसँगै तालमा पानी सुक्दै गएको स्थानीय विन्तीराम चौधरीले बताए । यो ताल क्षेत्रफलका दृष्टिले मुलुकको ठूलो मानिन्छ ।
सायबेरियाबाट हरेक वर्ष बढैयातालमा आउने मरुल लगायतका पाहुना चरा घटेको छ । पाहुना चराका लागि चितवनको बिस हजारी पछि बढैया नेपालको दोस्रो ठूलो ताल हो । बढैयाताल क्षेत्रमा ट्याक्टर, टिपर गुड्न थालेको र वनभोजमा डिजे साउण्डको प्रदूषणले चरा बढ्न सकेका छैनन् । एशिया महादेशमा हरेक वर्ष एकै समय जनवरी १० देखि २५ तारिखसम्म चराको गणना हुने गर्छ ।
यसवर्ष कर्णाली नदी आसपासका क्षेत्रमा २१ प्रजातिका ९ सय १८ वटा चरा गणना भएको थियो । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले सोही अवधिमा गेरुवा ३२ प्रजातिका ८ सय २२ वटा चरा फेला परेको बताए । बढैयाताल ४० प्रजातिका २ हजार १ सय ४९ वटा गरि बर्दियामा ३ हजार ८ सय ८९ वटा गणना भएको बताए ।
उनका अनुसार गतवर्ष कर्णालीमा १५ प्रजातिका ८ सय ९९ चरा गणना भएको थियो । सोही अवधिमा गेरुवामा ३० प्रजातिका ५ सय ९३ र बढैयातालमा १ हजार ७ सय १२ वटा गरि ३ हजार २ सय ४ वटा चराको संख्या गणना भएको थियो ।