— लागुऔषध कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई जना भारतीय नागरिकलाई जनही १८ वर्ष कैद फैसला सुनाएको छ ।
अदालतले जनही ५ लाख २० हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ । जिल्ला न्यायाधीश निर्मला शर्मा सुवेदीको मंगलबारको इजलाशले भारत हिसार हरियाणाका २५ वर्षीय कुमार गोठवाल र २० वर्षीय मनिष कुमारलाई अफिम र चरेसको कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
अफिम कारोबार गरेकोमा जनही १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । चरेस कारोबारमा जनही ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । गोठवाला र कुमारको साथबाट प्रहरीले ३ किलो ४६० ग्राम अफिम र २१ किलो ४६० ग्राम चरेस बरामद गरेको थियो ।
इलाका प्रहरी कार्यालय पालुङले अभियुक्तद्वयलाई २०८१ पुस २७ गते थाहा नगरपालिका-११ नौखण्डेबाट भारतीय कारसहित पक्राउ गरेको थियो। प्रतिवादीद्वय अहिले भीमफेदी कारागारमा छन् ।