मुख्य समाचार
पाँच महिनापछि डिस्चार्ज भए जेन–जी आन्दोलनका घाइते प्रकाश
पाँच महिनापछि डिस्चार्ज भए जेन–जी आन्दोलनका घाइते प्रकाश

— राष्ट्रिय ट्रमा सेन्टरको ४५१ नम्बर वार्ड । सामान प्याक गरिरहेकी नन्दा बोहराको आँखामा खुसीका आँसु भरिएका थिए । बेडमा पल्टिरहेका छोरा प्रकाश सिरानीछेउ भएका पुस्तक साथीहरूलाई झोलामा हाल्न इंगित गरिरहेका थिए । नन्दाले छोरालाई हेर्दै भनिन्, ‘म अस्पताल आएकै दिन लागेको थियो, अब पाँच/छ महिना त यहीँ बित्छ भनेर ।’

जेन–जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रकाश मंगलबार पाँच महिनापछि राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज हुँदाको क्षण थियो यो ।

गत २३ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवनअघि भएको आन्दोलनका क्रममा उनको देब्रे खुट्टामा गोली लागेको थियो । नसामा गहिरो चोट पुगेपछि उनलाई लामो समय आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । ‘यी दिनहरू सजिला कहाँ थिए र । यति दुख्थ्यो, मलाई बाँच्दिनँ जस्तो हुन्थ्यो,’ प्रकाश भावुक सुनिन्छन् ।

त्यो दिन गोली लागेपछि प्रकाश ढलेका थिए । अस्पताल लैजाँदै गर्दा उनको एउटा जुत्ता छुटेको थियो । रगतले लतपतिएको त्यो जुत्ताको तस्बिर सामाजिक सञ्जालभरि छायो । २४ भदौको प्रदर्शनमा निस्किएका थुप्रै व्यक्ति त्यही लतपतिएको जुत्ता देखेर आक्रोशित देखिन्थे । जेन–जी आन्दोलनको प्रतीक बनेको त्यो आइकोनिक जुत्ता प्रकाशकै रहेको विषयमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।

Prakash, injured in Gen-G movement, discharged after five months
जेन-जी आन्दोलनका बेला बानेश्वरमा भेटिएको रगताम्मे जुत्ता । तस्बिर : दिनेश गौतम

Hardik IVF
Laxmi Sunrise bank

त्यो जुत्ताको पनि आफ्नै कथा थियो । त्यो कथा पनि प्रकाशले कान्तिपुरलाई सुस्केरासहित केही समयअघि सुनाएका थिए । २०७३ मा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि प्रकाश लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए । भनेजस्तो नभएपछि उनले केही समय विभिन्न परियोजनामा काम गरे ।

केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गरे । घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आम्दानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिएका थिए । भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो । ऋण बढ्दै गएपछि उनले विभिन्न विकल्प खोजे, धेरैमा असफल भए । उनको छटपटी बढिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भयो । साथीभाइको सल्लाहमा उनले रुसी सेनामा भर्ती हुन जाने निर्णय लिए ।



दुई वर्षअघि प्रकाश रुसी सेनामा भर्ती पनि भए, युक्रेनविरुद्धको लडाइँमा होमिए । संयोगले १० महिनाअघि सकुशल नेपाल फर्किन पाए । रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– भाइरल बनेको सेतो जुत्ता । ‘साम्बा ब्रान्डको त्यो जुत्ता मैले १५ सय रुपैयाँमा किनेको थिएँ,’ प्रकाश सम्झन्छन् ।

जुत्ता भाइरल भइरहँदा प्रकाश भने आईसीयूमा थिए । त्यसपछिको अस्पताल बसाइ सहज भने थिएन । ‘मेरा लागि त्यो नर्क बराबर थियो,’ डिस्चार्जको तरखरमा रहेका प्रकाश भन्छन् । डेढ महिनादेखि भने उनको दुखाइ क्रमशः कम हुँदै गयो । ‘आज डाक्टरले डिस्चार्ज दिने भनेपछि खुसी पनि लाग्यो । यतिका समय बितेका दिनहरू सम्झिएँ,’ प्रकाश भन्छन् । अस्पताल बस्दा पनि प्रकाशको मन भने देशको भविष्यमाथि थियो । ‘परिवर्तनका लागि आवाज उठाएकै कारण गोली खाँदाको पीडा त छँदै थियो । अब देश कता जाने हो भन्ने कुराले बढ्ता पिरोलेको थियो,’ उनी सम्झिन्छन् ।

Prakash, injured in Gen-G movement, discharged after five months

प्रकाशको उपचारका लागि उनकी आमा नन्दा बोहरा असोज ३ गते काठमाडौं आइपुगेकी थिइन् । छोराको हर पीडाको साक्षी बसेकी आमा नन्दा छोरा डिस्चार्जको खबरले खुसी त छिन्, तर चिन्ता भने सकिएको छैन ।

‘घर जान पाइन्छ भन्ने सोच्दा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘तर खुट्टाको नसा कत्तिको बलियो हुन्छ, भविष्यमा के हुन्छ भन्ने डर पनि उस्तै छ ।’ डाक्टरका अनुसार नसाले पूर्ण रूपमा काम गर्न अझै समय लाग्नेछ । केही समयपछि पुनः फलोअप र थप उपचारका लागि आउन प्रकाशलाई सुझाएका छन् ।

प्रकाश हाल रास्वपाका तर्फबाट समानुपातिक सांसदको बन्दसूचीमा चौथो नम्बरमा छन् । हिजो संसद् भवन अगाडि सडकमा गोली खाएका प्रकाश अब संसद् भवनभित्र पस्न चाहन्छन् । घाइते र सहिद परिवारको आवाज बुलन्द पार्न चाहन्छन् । ‘घाइतेहरूको पीडा आफैंले अनुभूत गरेको छु । परिवारको पीडा महसुस गरेको छु । उनीहरूको आवाज र परिवर्तनका लागि म योगदान गर्न चाहन्छु,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू ...
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...