: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्न मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा प्रदर्शन गरिएको छ ।
nullनेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा निर्वाचनको समयमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने उद्देश्यले सुरक्षा प्रदर्शन गरिएको हो। कार्यक्रममा जिल्लास्थित तीन वटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयबीच समन्वयमा एकीकृत सुरक्षा तालिम अन्तर्गत प्रदर्शन गरिएको हो ।
nullनिर्वाचनका क्रममा हुन सक्ने विभिन्न प्रकारका निर्वाचनविरोधी गतिविधि नियन्त्रण गरी निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा सम्भावित घटनालाई नियन्त्रण गर्ने अभ्यास प्रदर्शन गरेका थिए । मतदान केन्द्रको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त भूमिकाबारे पनि प्रदर्शनमार्फत जानकारी दिइएको श्री हनुमानध्वज गुल्म हुटुका सेनानी खड्कबहादुर श्रेष्ठले जानकारी दिए ।
nullजिल्लाका तीन वटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकीकृत तालिमको अन्तिम दिन आयोजित सुरक्षा प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचन शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू स्वयं मर्यादित हुन आवश्यक रहेको बताए । उनले घटनाका स्वरूप फरक हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता सुरक्षा अभ्यासले मतदान केन्द्रलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए । यस कार्यक्रमले फागुन २१ गते हुने निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।