— एमाले सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट(१५) जित्नेगरी तयारी भए पनि १० सिट जित्ने दाबी गरेका हुन् ।
अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको उनले बताए । यसपटक मतदाताहरू एमाले नै ठीक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।
के भन्छन् महेश ?
यहाँ कतिपय घुमन्ते साथीहरू आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्योचाहिँ हामी उपत्यकावासीहरूलाई गिज्याइरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरूको भोट परिवर्तित छ ।
कहिलेकाहीँ सानो परिघटनाबाट पनि उपत्यकाले भोट परिवर्तन गरेको छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका मात्रै सिट ल्याएको थियो । त्यो भोगाइबाट यसपालि चाहिँ एमाले नै ठीक हो भन्ने ठाउँमा उपत्यकावासी पुगेका छन् ।
अघिल्लो पटक पाँचदलीय गठबन्धन बनेको कारणले बालेन र रविजीहरूको स्वतन्त्रको क्रेज भएकोमा अवस्थामा हामीले दुई सिट मात्रै जितेका हौँ । यसपालि उपत्यकाका १५ सिट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कम से कम १० सिट हामी जित्छौँ ।