। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताउँदै महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताएका छन् । त्यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ ।
महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गमका प्रतिभाहरूलाई सिधै विश्व बजारसँग जोड्ने गरी अवसरको लोकतन्त्रीकरण गरिनुपर्ने, आर्थिक इकोसिस्टमअन्तर्गत शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीतिलाई एकअर्काको पूरक बनाउँदै एकीकृत प्रणाली विकास गर्ने, विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’ मा रूपान्तरण गर्नुपर्ने पनि महामन्त्री पौडेलको मत छ ।
यस्तै नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको चर्चा गर्दै महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा बाधक बनेका झन्झटिला कानुन विस्थापित गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयबीच समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा परेको बताउँदै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधिको आवश्यकता औँल्याए ।
महामन्त्री पौडेलले ‘२१औँ शताब्दीको लोकतान्त्रिक समाजवाद’बारे चर्चा गर्दै समाजवादले कसैको प्रगतिमा बाधक नभई बरु गरिबी र अभावमा कसैलाई पर्न नदिन सुरक्षा आवश्यक रहेको तर्क गरेका छन् ।
महामन्त्री पौडेलले बौद्धिक पुँजीको महत्व, डिजिटल अर्थतन्त्र अन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्महरूले सिर्जना गरेका अवसरहरूलाई कानुनी मान्यता दिँदै ‘स्टार्टअप’ हरूलाई प्रोत्साहन आवश्यक रहेको तर्क गरेका छन् ।
महामन्त्री पौडेलले आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणा आफ्नो वक्तव्यमा अघि सारेका छन् । वैदेशिक सहायताबाट लगानीतर्फ अघि बढ्नुपर्ने र विदेशी सहायतामा मात्र निर्भर रहने परम्परा तोडेर व्यापार र लगानी भित्र्याउने कूटनीति अवलम्बन गरिनुपर्ने उनले बताएका छन् ।
महामन्त्री पौडेलले नेपाली डायस्पोराको उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई ‘ब्रन गेन’मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।