राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको दाबी गरेका छन् । बिहीबार तनहुँ–१ मा मतदातासँग कुराकानी गर्दै वाग्लेले विपक्षीहरू आफूसँग डराएर भ्रम छर्न लागेको बताएका हुन् ।
‘२४ घण्टाभित्र मेरो पेजमा गएर १३५ चोटी एडिट गरेछन् । हुँदाहुँदा एकचोटी मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोहो पनि हालेछन्,’ वाग्लेले भने, ‘यो रमिता हो । यिनिहरू डराएका पनि हुन्, तर्सेका पनि हुन् ।’
आफ्नो निष्कलंक छवि तनहुँका जनताले चिनिसकेको उनले दाबी गरे । उनले भने, ‘अलिकति सेतो, निष्कलंक छविमा हिजो छ्यापेपछि अलिकति टाँटा बस्छ नि । त्यस्तै आश गरेका छन् यिनले । तर, जनताले चिनिसकेपछि त्यसको केही अर्थ छैन ।’
अघिल्लो निर्वाचनमा पनि विभिन्न खाले हल्ला फैलाएको बताउँदै वाग्लेले त्यो बेला पनि जनताले आफूलाई पत्याएकाले त्यसले असर नगरेको टिप्पणी गरे। यसपालि पनि आफू जित्नेमा ढुक्क रहेको उनले बताए ।
‘तनहुँमा मात्र होइन, देशैभरी घण्टी बज्नेवाला छ । नेपालको संसदीय इतिहासमा नदेखिएको उभार अहिले आउँदैछ,’ वाग्लेले भने ।