: नेकपा एमाले रुकुम पूर्वले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। सिस्ने गाउँपालिका-६ छिप्रीदहस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फका उम्मेदवार लिलामणि गौतमले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धता पत्रमा जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा जलस्रोत, सूचना-सञ्चार तथा विद्युतीकरण, उद्यम विकास तथा रोजगारी सिर्जना, कृषि-वन पैदावार तथा पशुपालन, मौलिक कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, युवा तथा खेलकुद, शहरी विकास, सुशासन प्रवर्द्धन, द्वन्द्वकालीन यौनजन्य हिंसा पीडितका सवाल, महिला सशक्तीकरण तथा समानताका लागि विशेष कार्यक्रमलगायतका विषय समेटिएका छन्।
ग्रामीण क्षेत्रमा सडक, पुल तथा यातायात पूर्वाधार सुदृढ गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी ठूला पूर्वाधार आयोजना भित्र्याई समयमै कार्यान्वयन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। सडक यातायाततर्फ जिल्लाको विकासको मेरुदण्डका रूपमा रहेको मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने, सहिद मार्गको यथाशीघ्र निर्माण पूरा गर्ने, देउखोला-कुमा नायगाड-सिस्ने हुँदै डोल्पा सडक सञ्जाल विस्तार गर्ने, देउखोला-जामा-त्रिवेणी-तकसेरा सडक निर्माण गर्ने, चुन्बाङ-रुकुमकोट सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने, भुमे र सिस्ने रिङ रोड स्तरोन्नति गर्ने, सेरा-दमचन-ढोरपाटन सडक विस्तारलगायत जिल्लाका अन्य सडक सञ्जालले नछुने वडा तथा बस्तीमा पाँच महिनाभित्र सडक पहुँच पुर्याई बाह्रै महिना सुरक्षित र भरपर्दो यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
शिक्षातर्फ शिक्षण पेशालाई मर्यादित बनाउँदै शिक्षकहरूको वृत्ति विकास गरिने, भुमे गाउँपालिका लुगुममा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने तथा पुथा उत्तरगंगा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोत-साधन सम्पन्न बनाइने उल्लेख गरिएको छ। स्वास्थ्यतर्फ सडक दुर्घटना तथा आकस्मिक बिरामीलाई लक्षित गर्दै भुमे गाउँपालिका काक्री स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ट्रमा सेन्टरको रूपमा विकास गरिने प्रतिबद्धता गरिएको छ।
खानेपानी तथा सिँचाइतर्फ ‘एक घर, एक धारा’ अवधारणाअनुसार प्रत्येक घरमा स्वच्छ खानेपानी सुविधा पुर्याइने, सिँचाइ प्रणाली स्तरोन्नति गरिने तथा जिल्लामा सञ्चालित खानेपानी योजनाहरू समयमै सम्पन्न गर्न पहल गरिने उल्लेख छ। सूचना-सञ्चार तथा विद्युततर्फ जिल्लाका ३१ वटै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन विस्तार गरिने प्रतिबद्धता गरिएको छ। उद्यम विकासतर्फ युवा उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारीको ग्यारेन्टी गरिने तथा कृषि उद्यममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उम्मेदवार छन्।