: विधि र प्रणाली बसाउने भन्दै बदलिएको कांग्रेसको नारा दिँदै आएका कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले कानुनअनुसार अदालतको म्याद तामेली गर्न मानेका छैनन् ।
विशेष महाधिवेशनका नाममा भृकुटीमण्डपमा ‘अवैधानिक भेला’ भएको भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटअनुसार दुवै पक्षलाई छलफलमा बोलाउने आदेश सर्वोच्चले गरेको थियो । सर्वोच्चले अग्राधिकारसहित उक्त रिटलाई प्राथमिकतामा राखेर १५ दिनभित्र जवाफ फर्काउन आदेश दिएको थियो । तर, विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति थापा र उपसभापति शर्मा दुवैले सर्वोच्चको म्याद बुझ्न मानेका छैनन् ।
सर्वोच्चका तामेलदारले पटकपटक उनीहरूलाई म्याद बुझ्नका लागि सम्पर्क गर्दा पनि उनीहरूले विभिन्न बहाना बनाउने र ढाँट्ने गरेको ती तामेलदारले बताए । ‘अदालतको आदेशअनुसार १५ दिनभित्र म्याद बुझेर जवाफ फर्काउनुपर्नेमा तीन हप्तादेखि उहाँहरू दुवै जनालाई सम्पर्क गरिरहेको छु तर उहाँहरू म्याद बुझ्नै मान्नु हुन्न,’ सर्वोच्च प्रशासनका ती तामेलदारले भने, ‘अदालतको आदेशअनुसारको म्याद सबैले बुझ्नुपर्छ । उहाँहरू सुपर मानव त होइन, तर उहाँहरूले किन यस्तो गर्नु भएको छ बुझन सकिएको छैन ।’
थापा र शर्माले म्याद नबुझ्दा अदालती प्रक्रिया अवरोध भएको छ । सर्वोच्चले अवको केही दिनभित्र पनि म्याद नबुझे पत्रिकामा सूचना निकाल्ने तयारी गरेको जनाएको छ ।