: नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापाले आफ्नो पार्टीले ‘इख’ को राजनीति नगर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–६ मा आयोजित ‘सर्लाही–४ र गोकर्णेश्वर नगरपालिका सम्पर्क मञ्च’ को कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आगामी निर्वाचनपछि बन्ने सरकार नेपाली कांग्रेसकै नेतृत्वमा हुनुपर्ने आवश्यकता औंल्याए ।
कांग्रेस नेतृत्वको सरकार बने सिंहदरबार, संसद भवन वा अदालत जस्ता संवैधानिक संस्थाहरू जलाउनु पर्ने अवस्था नआउने भन्दै उनले राजनीतिक स्थायित्व र संस्थागत लोकतन्त्रको पक्षमा कांग्रेस दृढ रहेको दावी गरे ।
थापाले नेपाली कांग्रेसले ‘इखको राजनीति’ नगर्ने स्पष्ट पार्दै घृणा, विभाजन र उक्साहटको राजनीति त्यागेर देशलाई समुन्नत बनाउने दिशामा अघि बढ्नु पर्ने बताए । लोकतन्त्र, विधिको शासन र सामाजिक सद्भावलाई मजबुत बनाउने जिम्मेवारी कांग्रेसले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै उनले सबै मतदातालाई कांग्रेसलाई मत दिन आग्रह गरे ।
मधेस र पहाडबीचको सम्बन्ध थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता उल्लेख गर्दै थापाले आफू सर्लाही आउनुको उद्देश्य सम्पूर्ण मधेशलाई देशको मूलधारसँग अझ बलियो रूपमा जोड्नु रहेको बताएका छन् । विकास, रोजगारी र सुशासन बिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले भावनात्मक होइन, परिणाममुखी राजनीति आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले स्थानीय समस्या, मधेसको विकास र राष्ट्रिय राजनीतिबारे थापासँग आफ्ना जिज्ञासा राखेका थिए । थापाले जनताको आवाज संसद र सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताएका छन् ।