: निर्वाचन नजिकिँदै गर्दा नवलपरासीमा अवैधरुपमा राखिएको हतियार बरामद भएका छन् । सीमावर्ती क्षेत्र सुस्तामा हतियार बरामद भएको हो । प्रहरीले सुस्ता गाउँपालिका–५ बलिनगरका ४५ वर्षीय श्रीराम पटेलको घरबाट हतियार बरामद गरेको हो ।
घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा १२ बोरको एक नाले बन्दुक,दुई थान कार्टिज, खाली खोका एक थान, छर्राहरू र छर्रा बनाउने साँचो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले जानकारी दिए ।
हतियार लुकाएर राख्ने कुर्मी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैबीच निर्वाचनलाई लक्षित गरेर सुरक्षा निकायले इजाजत (अनुमति) लिएका हतियार बुझाउन सूचनामार्फत आग्रह गरेको छ ।
चैत २० गतेसम्मको एक महिनाको समय सीमा राखेर हतियार बुझाउन आग्रह गरेपनि अहिलेसम्म १८ थान हतियार मात्र संकलन भएको छ । जिल्लामा ४०८ हतियार सर्वसाधारणले अनुमति लिएर राखेका छन् ।
तिमध्ये अधिकांश हतियार नवीकरण नै गरिएका छैनन् । अझै ३९० हतियार व्यक्तिका घरमै छन् । ती हतियारको अवस्था के छ भन्नेमा सुरक्षा निकाय नै अनविज्ञ जस्तै छ । ‘निर्वाचनको समयमा गलत प्रयोग हुन्छ भनेर हतियार बुझाउन सूचना निकालेका हौं । नबुझाएकाले तत्काल बुझाउनका लागि मातहतका प्रहरी कार्यालयमार्फत पनि जानकारी दिएका छौं । त्यति गर्दा पनि नबुझाए कानुनअनुसार हुन्छ ,'डीएसपी पन्तले भने ।