मुख्य समाचार
ओमानको मस्कटमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक
ओमानको मस्कटमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक

— ओमानको मस्कटमा शुक्रबार अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा टुंगिएको छ । दुवै देशका अधिकारीले वार्ता निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक भएको बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि वार्ता निकै राम्रो सुरुवात भएको जानकारी दिएका छन् । इरानी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अमेरिकाले इरानसँगको अविश्वास कम गर्दै लैजानुपर्ने धारणा राखे ।

ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीले शुक्रबार इरानी र अमेरिकी अधिकारीहरूसँग मस्कटमा बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् । उनले दुवै पक्षलाई एकअर्काका सन्देश सुनाउँदै मध्यस्थता प्रयास गरेका थिए । इरानी मिडियाका अनुसार शुक्रबार अराग्चीले अल बुसैदीसामु अहिलेको संकट व्यवस्थापन गर्ने प्रारम्भिक योजना प्रस्तुत गरेका थिए । इरानका शीर्ष कूटनीतिज्ञले अमेरिकासँगको वार्ता इरानको आणविक कार्यक्रममा केन्द्रित रहेको अलजजिरासँग बताएका छन् ।

त्यस्तै, मध्यपूर्व एसियाका लागि अमेरिकी दूत स्टिफ विटकोफ र ट्रम्पका ज्वाइँ जरेद कुश्नरले अल बुसैदीलाई भेटेका थिए । ओमानको सरकारी समाचार एजेन्सीले जारी गरेका तस्बिरहरूमा अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपर पनि बैठकहरूमा उपस्थित देखिन्छन् ।
गत जुनमा इरान–इजरायलबीचको १२ दिने युद्धअघि दुई देशबीच पाँच चरणमा आणविक वार्ता भएका थिए । त्यसबेला पनि ओमानी मध्यस्थकर्ताहरूले अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भेटघाट गराएका थिए । तर, युद्ध भड्किएपछि वासिङ्टनले प्रमुख इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्‍यो, जवाफमा इरानले पनि कतारमा रहेको अमेरिकी वायुसेनाको अखडामा आक्रमण गर्‍यो ।

यी सबै गतिविधिले दुई देशबीच संवादहीनताको अवस्था सिर्जना भयो । अक्टोबरमा ट्रम्पले फेरि एक पटक इरानलाई वार्तामा बोलाएका थिए । इजरायलको संसद्लाई सम्बोधन गर्दै उनले इरान तयार भएमा अमेरिकाले वार्ता गर्ने बताएका थिए । यस पटक अमेरिकाले मध्यपूर्वमा आफ्नो युद्धपोत तैनाथ गरेसँगै इरान वार्ताका लागि तयार भएको हो । ट्रम्पले आणविक वार्ताको प्रयाससँगै इरानलाई निरन्तर चेतावनी दिइरहेका छन् । ‘इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरे अवस्था निकै कठिन हुनेछ,’ उनले भने ।

युरेनियम संवर्द्धनमा रोकिएको वार्ता

इरान र ट्रम्प प्रशासनबीच विगतका सबै वार्ता युरेनियम संवर्द्धनको मुद्दामा पुगेर अड्किएका छन् । इरानले युरेनियम संवर्द्धन गतिविधि पूर्णतः अन्त्य गर्नुपर्ने माग ट्रम्प प्रशासनले राख्दै आएको छ । युरेनियमको संवर्द्धनलाई सीमित गर्न इरान तयार छ । तर शून्यमा झार्न तयार छैन । इरानले सन् २०१५ को आणविक सम्झौताअनुसार अघि बढ्ने इच्छा व्यक्त गरेको थियो ।

अस्ट्रियाको भियनामा भएको उक्त सम्झौतामा अमेरिका, बेलायत, रुस, चीन, फ्रान्स, जर्मनी र इरानले यस सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । इरानले युरेनियम संवर्द्धनलाई ३.६७ प्रतिशत र युरेनियम भण्डारणलाई ३ सय केजीमा सीमित गर्नुपर्ने उक्त सम्झौतामा उल्लेख थियो । यो स्तर ऊर्जा र चिकित्सा प्रयोजनका लागि पर्याप्त हुन्छ । तर हतियार बनाउन पुग्दैन । हतियार निर्माणका लागि (८०–९० प्रतिशत) युरेनियम संवर्द्धन हुनुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

यस सम्झौताको कार्यान्वयनबारे अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले निगरानी गरिरहेको थियो । जसका लागि इरानका सबै आणविक केन्द्रमा चौबीसै घण्टा चल्ने क्यामरा लगाइएको थियो । सम्झौतामा हस्ताक्षर गरेर आणविक हतियार निर्माण गर्ने महत्त्वाकांक्षा त्यागेबापत इरानलाई अन्तर्राष्ट्रिय बजारमा सहज र न्यायोचित पहुँच दिइने सहमति शक्ति राष्ट्रहरूले गरेका थिए ।

तर, २०१८ मा ट्रम्प राष्ट्रपति भएपछि यस सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे । अर्को वर्ष इरानले युरेनियम संवर्द्धनलाई ४.५ प्रतिशतमा पुर्‍यायो । २०२३ देखि इरानले क्यामरा हटाएर आफ्नो आणविक कार्यक्रमबारे जानकारी दिन छाड्यो । उसले त्यसयता आणविक कार्यक्रमलाई तीव्र बनाएको छ । २०२५ मा भएका ५ चरणका वार्तामा इरान २०१५ को अवस्था (संवर्द्धन स्तर ३.६७ प्रतिशत) मा फर्कन तयार रहेको बताएको थियो । अमेरिकाले शून्य संवर्द्धनको माग गर्‍यो । तर, इरान–इजरायल युद्ध भड्किएसँगै वार्ता विफल भयो ।

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । वार्ता र दबाबको नीतिलाई एकसाथ लैजाने गरी ट्रम्पले यस्तो निर्णय गरेका हुन् । ‘इरानसँग कुनै पनि सामग्री वा सेवा प्रत्यक्ष/अप्रत्यक्ष लिने–दिने देशबाट अमेरिकामा आउने सामग्रीमा यस्तो शुल्क लाग्न सक्छ,’ आदेशमा भनिएको छ ।

यसले चीनसँगको अमेरिकाको व्यापारलाई प्रभावित गर्नेछ । चीन इरानको सबैभन्दा ठूलो व्यापार साझेदार र इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । रुस, जर्मनी, टर्किए र यूएई पनि यस निर्णयबाट प्रभावित हुनेछन् । यो निर्णयबाट इरानलाई आणविक कार्यक्रममा जिम्मेवार बनाउने तथा आतंकवादलाई दिने समर्थन अन्त्य गर्न बाध्य तुल्याउने लक्ष्य राखेको ह्वाइटहाउसले जनाएको छ । ब्यालेस्टिक मिसाइल र क्षेत्रीय अस्थिरता निम्त्याएर अमेरिका र उसका गठबन्धनहरूको सुरक्षा स्वार्थलाई इरानले प्रभावित गरिरहेको आरोप पनि वासिङ्टनको छ ।

शुक्रबारै अमेरिकाले इरानी तेल बोक्ने १४ जहाजलाई प्रतिबन्ध लगाएको छ । ‘आफ्नो जनताको जीवनस्तर र बिग्रेका पूर्वाधार मर्मतमा लगानी गर्नुको साटो इरानले विश्वभर अस्थिरता फैलाउने गतिविधिलाई प्रश्रय दिन आर्थिक सहयोग गरिरहेको छ । त्यस्तै इरानभित्र पनि दमन बढाइरहेको छ ,’ अमेरिकाको विदेश विभागका उपप्रवक्ता टमी पिगोले सीएनएनसँग भनेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...