मुख्य समाचार
ओमानको मस्कटमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक
ओमानको मस्कटमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक

— ओमानको मस्कटमा शुक्रबार अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा टुंगिएको छ । दुवै देशका अधिकारीले वार्ता निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक भएको बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि वार्ता निकै राम्रो सुरुवात भएको जानकारी दिएका छन् । इरानी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अमेरिकाले इरानसँगको अविश्वास कम गर्दै लैजानुपर्ने धारणा राखे ।

ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीले शुक्रबार इरानी र अमेरिकी अधिकारीहरूसँग मस्कटमा बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् । उनले दुवै पक्षलाई एकअर्काका सन्देश सुनाउँदै मध्यस्थता प्रयास गरेका थिए । इरानी मिडियाका अनुसार शुक्रबार अराग्चीले अल बुसैदीसामु अहिलेको संकट व्यवस्थापन गर्ने प्रारम्भिक योजना प्रस्तुत गरेका थिए । इरानका शीर्ष कूटनीतिज्ञले अमेरिकासँगको वार्ता इरानको आणविक कार्यक्रममा केन्द्रित रहेको अलजजिरासँग बताएका छन् ।

त्यस्तै, मध्यपूर्व एसियाका लागि अमेरिकी दूत स्टिफ विटकोफ र ट्रम्पका ज्वाइँ जरेद कुश्नरले अल बुसैदीलाई भेटेका थिए । ओमानको सरकारी समाचार एजेन्सीले जारी गरेका तस्बिरहरूमा अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपर पनि बैठकहरूमा उपस्थित देखिन्छन् ।
गत जुनमा इरान–इजरायलबीचको १२ दिने युद्धअघि दुई देशबीच पाँच चरणमा आणविक वार्ता भएका थिए । त्यसबेला पनि ओमानी मध्यस्थकर्ताहरूले अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भेटघाट गराएका थिए । तर, युद्ध भड्किएपछि वासिङ्टनले प्रमुख इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्‍यो, जवाफमा इरानले पनि कतारमा रहेको अमेरिकी वायुसेनाको अखडामा आक्रमण गर्‍यो ।

यी सबै गतिविधिले दुई देशबीच संवादहीनताको अवस्था सिर्जना भयो । अक्टोबरमा ट्रम्पले फेरि एक पटक इरानलाई वार्तामा बोलाएका थिए । इजरायलको संसद्लाई सम्बोधन गर्दै उनले इरान तयार भएमा अमेरिकाले वार्ता गर्ने बताएका थिए । यस पटक अमेरिकाले मध्यपूर्वमा आफ्नो युद्धपोत तैनाथ गरेसँगै इरान वार्ताका लागि तयार भएको हो । ट्रम्पले आणविक वार्ताको प्रयाससँगै इरानलाई निरन्तर चेतावनी दिइरहेका छन् । ‘इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरे अवस्था निकै कठिन हुनेछ,’ उनले भने ।

युरेनियम संवर्द्धनमा रोकिएको वार्ता

इरान र ट्रम्प प्रशासनबीच विगतका सबै वार्ता युरेनियम संवर्द्धनको मुद्दामा पुगेर अड्किएका छन् । इरानले युरेनियम संवर्द्धन गतिविधि पूर्णतः अन्त्य गर्नुपर्ने माग ट्रम्प प्रशासनले राख्दै आएको छ । युरेनियमको संवर्द्धनलाई सीमित गर्न इरान तयार छ । तर शून्यमा झार्न तयार छैन । इरानले सन् २०१५ को आणविक सम्झौताअनुसार अघि बढ्ने इच्छा व्यक्त गरेको थियो ।

अस्ट्रियाको भियनामा भएको उक्त सम्झौतामा अमेरिका, बेलायत, रुस, चीन, फ्रान्स, जर्मनी र इरानले यस सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । इरानले युरेनियम संवर्द्धनलाई ३.६७ प्रतिशत र युरेनियम भण्डारणलाई ३ सय केजीमा सीमित गर्नुपर्ने उक्त सम्झौतामा उल्लेख थियो । यो स्तर ऊर्जा र चिकित्सा प्रयोजनका लागि पर्याप्त हुन्छ । तर हतियार बनाउन पुग्दैन । हतियार निर्माणका लागि (८०–९० प्रतिशत) युरेनियम संवर्द्धन हुनुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

यस सम्झौताको कार्यान्वयनबारे अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले निगरानी गरिरहेको थियो । जसका लागि इरानका सबै आणविक केन्द्रमा चौबीसै घण्टा चल्ने क्यामरा लगाइएको थियो । सम्झौतामा हस्ताक्षर गरेर आणविक हतियार निर्माण गर्ने महत्त्वाकांक्षा त्यागेबापत इरानलाई अन्तर्राष्ट्रिय बजारमा सहज र न्यायोचित पहुँच दिइने सहमति शक्ति राष्ट्रहरूले गरेका थिए ।

तर, २०१८ मा ट्रम्प राष्ट्रपति भएपछि यस सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे । अर्को वर्ष इरानले युरेनियम संवर्द्धनलाई ४.५ प्रतिशतमा पुर्‍यायो । २०२३ देखि इरानले क्यामरा हटाएर आफ्नो आणविक कार्यक्रमबारे जानकारी दिन छाड्यो । उसले त्यसयता आणविक कार्यक्रमलाई तीव्र बनाएको छ । २०२५ मा भएका ५ चरणका वार्तामा इरान २०१५ को अवस्था (संवर्द्धन स्तर ३.६७ प्रतिशत) मा फर्कन तयार रहेको बताएको थियो । अमेरिकाले शून्य संवर्द्धनको माग गर्‍यो । तर, इरान–इजरायल युद्ध भड्किएसँगै वार्ता विफल भयो ।

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । वार्ता र दबाबको नीतिलाई एकसाथ लैजाने गरी ट्रम्पले यस्तो निर्णय गरेका हुन् । ‘इरानसँग कुनै पनि सामग्री वा सेवा प्रत्यक्ष/अप्रत्यक्ष लिने–दिने देशबाट अमेरिकामा आउने सामग्रीमा यस्तो शुल्क लाग्न सक्छ,’ आदेशमा भनिएको छ ।

यसले चीनसँगको अमेरिकाको व्यापारलाई प्रभावित गर्नेछ । चीन इरानको सबैभन्दा ठूलो व्यापार साझेदार र इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । रुस, जर्मनी, टर्किए र यूएई पनि यस निर्णयबाट प्रभावित हुनेछन् । यो निर्णयबाट इरानलाई आणविक कार्यक्रममा जिम्मेवार बनाउने तथा आतंकवादलाई दिने समर्थन अन्त्य गर्न बाध्य तुल्याउने लक्ष्य राखेको ह्वाइटहाउसले जनाएको छ । ब्यालेस्टिक मिसाइल र क्षेत्रीय अस्थिरता निम्त्याएर अमेरिका र उसका गठबन्धनहरूको सुरक्षा स्वार्थलाई इरानले प्रभावित गरिरहेको आरोप पनि वासिङ्टनको छ ।

शुक्रबारै अमेरिकाले इरानी तेल बोक्ने १४ जहाजलाई प्रतिबन्ध लगाएको छ । ‘आफ्नो जनताको जीवनस्तर र बिग्रेका पूर्वाधार मर्मतमा लगानी गर्नुको साटो इरानले विश्वभर अस्थिरता फैलाउने गतिविधिलाई प्रश्रय दिन आर्थिक सहयोग गरिरहेको छ । त्यस्तै इरानभित्र पनि दमन बढाइरहेको छ ,’ अमेरिकाको विदेश विभागका उपप्रवक्ता टमी पिगोले सीएनएनसँग भनेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...