— उच्च अदालत विराटनगरले ‘३३ किलो सुन तस्करी’ तथा सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत मोरङको अघिल्लो फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्चले आइतबार यस्तो फैसला सुनाएको हो ।
न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले अन्य केही प्रतिवादीको हकमा पनि सजाय परिवर्तन गरेको छ । सोही प्रकरणमा जोडिएका प्रहरी अधिकारीहरुलाई भने सफाइ दिएको छ ।
२० माघदेखि सुरु भएको निरन्तर सुनुवाइपछि उच्च अदालतले मुख्य योजनाकार मानिएका गोरेलाई थप सजाय सुनाएको हो ।
यसअघि जिल्ला अदालतले गोरेलाई कर्तव्य ज्यान मुद्दामा मात्रै जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । उच्चको नयाँ फैसलासँगै अब उनले थप १० वर्ष गरी कुल ३० वर्ष जेल हुने भएको छ ।
अदालतले अन्य केही प्रतिवादीको हकमा भने कैद सजाय घटाउने निर्णय गरेको छ । जिल्ला अदालतबाट जन्मकैद पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय घटाएर १०–१० वर्ष कायम गरिएको छ । यस्तै, हत्याका मतियार मदन सिलवाललाई तीन वर्ष कैद सजाय तोकिएको छ। लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्लाकै जन्मकैदको फैसला सदर भएको छ।
तर, ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको ‘संगठित अपराध’ र ‘भन्सार चोरी निकासी’ को मुद्दामा भने उच्च अदालतले सरकारी दाबी नपुग्ने ठहर गरेको छ । यसअघि जिल्ला अदालतले पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपीहरू श्यामबहादुर खत्री र दिवेश लोहनी (हाल एआईजी), डीएसपीहरू सञ्जयबहादुर राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललगायतलाई दिएको सफाइलाई उच्चले समेत सदर गरेको छ ।