— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय शक्तिले लोकप्रियवादको प्रयोग गरी चलखेल गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय शक्तिले नेपालको लोकतन्त्रमाथि प्रहार गरेको समेत दाबी गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको वाहकका रूपमा यो फेरि जनताको आशा र भरोसाको केन्द्र बन्दै छ। विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतका बहस भए पनि सोसल मिडियामा स्टन्ट गरेर पपुलिजम प्रस्तुत गर्ने प्रयास भए,’ दाहालले काठमाडौं-५ को निर्वाचन कार्यक्रममा सोमबार भने, ‘विश्व साम्राज्यवादले पपुलिजमलाई लोकतन्त्र र समाजवादविरुद्ध प्रयोग गरेको जस्तै नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेनालाई दोहोर्याएर लोकतन्त्रमाथि प्रहार गर्ने र भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भएको छ ।’
उनले नेकपालाई अझ बलियो बनाएर प्रतिवाद गर्नुपर्ने आवश्यकता भएको बताए । ‘त्यसको प्रतिवाद गर्न नयाँ संकल्प र समीक्षासहित राष्ट्र तथा जनताप्रति समर्पित तागत चाहिएको छ। त्यही ताकत सृष्टि गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेका छौं’ उनले थपे ।
उनले सिङ्गो राष्ट्र नै निर्वाचनमय भएको उल्लेख गर्दै नेपाली कम्युनिस्ट पार्टीको स्थिति दिनप्रतिदिन सुदृढ हुँदै गएको दाबी गरे ।