: कपडा लोड गरिएको दुईवटा ट्रकलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ। भन्सार एवं राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिइएको हो।
रानी-रोडशेष सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका-१४ नेपाल टेलिकम अगाडिबाट चालकसहित ट्रक नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। उनका अनुसार भारतबाट नेपाल प्रवेश गरेका प्र ३-०१-००५ ख ९४२५ र प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।
९४२५ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रकका चालक रामेछापको मन्थली नगरपालिका-१० का ३७ वर्षीय कुमार बुढाथोकी हुन्। लत्ताकपडा लोड गरिएको ट्रक नियन्त्रणमा लिएर दुवै चालकलाई पक्राउ गरिएको चौधरीले बताए। उनका अनुसार बिल बीजकभन्दा बढी कपडा लोड रहेको र भन्सार मूल्यांकन कम गरेर राजस्व चुहावट एवं भन्सार छली गरिएको भन्ने सूचनाका आधारमा चालकसहित दुवै ट्रकलाई नियन्त्रणमा लिइएको हो।
ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रूपैयाँ रहेको अनुमान गरिएको छ। चालकसहित नियन्त्रणमा लिइएको ट्रकलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।