: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्। सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिएको थियो।
पार्टीको जिल्ला समितिले ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ तय गरी सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। क्षेत्र नम्बर १ र २ मा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उक्त कार्यक्रम तय गरिएको छ।
रवि लामिछाने सहभागी हुने उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रशासनले कार्यक्रम गर्न रोक लगाएको हो। निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले निकालेको सूचनामा रास्वपा सभापतिका लागि उक्त कार्यक्रम आयोजना गरिएको सूचना आएकाले उक्त कार्यक्रम गर्दा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी गतिविधि नगर्न भनिएको छ।
‘प्रशासनले रोक नै लगाएको भन्ने नबुझौं। उक्त कार्यक्रम निर्वाचन प्रचारप्रसारमा पर्ने र प्रचारप्रसारको समय नभएकाले आचारसंहिता विपरीत काम नगरी दिन सम्बन्धित पार्टीलाई भनिएको हो,’ अनुगमन अधिकृत भण्डारीले भने।