: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू पदमा कुनै भागबण्डा नगरी आएको दावी गरेका छन् । उनले रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने ‘हामी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएका हौं, पदमा कुनै भागबण्डा नगरी आएका हौं, पाँच वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ । अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईको मत खेर जाने छैन।’
उनले रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे उल्लेख गर्दै पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरेका छन् । उनले मुलुकले इतिहास लेख्ने अवसर पाएको र यस्तो अवसर विरलै पाइने बताए । उनले अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्ने बताए ।
उने जनताको ताकतलाई नजरअन्दाज गर्न नहुने भन्दै अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भएको र अब जनताले उनीहरूलाई नपत्याउने बताए । सभापति लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘दल र नेताले धेरै पटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने ।