: प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को चुनावी माहोल दिनप्रतिदिन बढ्दो छ। यहाँको प्रतिस्पर्धा सामान्य चुनावी प्रक्रियाभन्दा बाहिर गएर राजनीतिक संस्कार र कार्यशैलीको बहसमा रूपान्तरण हुन थालेको देखिन्छ।
वर्षौँदेखि विकासका नाममा आश्वासन दोहोरिँदै आएको परम्परागत राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि बढिरहेका बेला नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार पुनम यादवको उम्मेदवारीले यस क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको छ। उनको चुनावी अभियान दलगत भिडन्तभन्दा पनि 'राजनीतिक सोचको प्रतिस्पर्धा' जस्तो देखिन थालेको उनी बताउँछिन्।
आइतबारदेखि सुरु भएको घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियानमार्फत यादव विभिन्न बस्तीमा पुगिरहेकी छन्। कटहरिया नगरपालिकाको भसेढवा लगायतका क्षेत्रमा पुगेर उनले वृद्धवृद्धा, महिला, किसान र युवासँग प्रत्यक्ष संवाद गर्दै दैनिक जीवनसँग जोडिएका समस्या सुन्ने प्रयास गरेकी छन्।
उनको अभियान शैली भाषणभन्दा बढी सुनुवाइमा केन्द्रित देखिएको छ, जसले मतदातामा चासो बढाएको नेकापाका युवा नेता अजय तिमल्सिनाले प्रतिक्रिया दिएका छन्।
रौतहट-३ को प्रतिनिधिसभा इतिहासमा महिला उम्मेदवारको उपस्थिति पहिलोपटक हो। यसले चुनावमा लैङ्गिक प्रतिनिधित्वको बहस त ल्याएको छ नै, सँगसँगै यसलाई पुरानो राजनीतिक संरचनाप्रतिको असन्तुष्टिको संकेतका रूपमा पनि हेरिएको छ।
यहाँका मतदाताको साझा गुनासो छ, 'चुनावअघि प्रतिबद्धता, चुनावपछि बेवास्ता। यही चक्र दोहोरिँदा जनविश्वास कमजोर बनेको नेकपा नेता तिमल्सिनाको भनाइ छ। क्षेत्र नम्बर ३ मा उठ्ने सबैभन्दा बलियो प्रश्न हो, विकास किन समान रूपमा पुगेन? विगतमा निर्वाचित भएकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक र खानेपानीजस्ता आधारभूत क्षेत्रमा सुधारको अपेक्षा गरिए पनि योजनाहरू सीमित बस्ती र पहुँच भएका समूह वरिपरि केन्द्रित भएको आरोप कटहरियाका मेयर प्रत्यासी नसरुदिन अन्सारीले गुनासो गरेका छन्।
स्थानीय विश्लेषकहरू भन्छन्- विकास योजनाको वितरण समावेशी हुन नसक्दा जनस्तरमा असन्तोष बढेको हो। यही असन्तुष्टिले अहिले चुनावी बहसलाई नयाँ दिशातर्फ धकेलेको छ।
केही मतदाताहरू खुलारूपमा स्वीकार्छन् कि क्षेत्र नम्बर ३ मा राजनीति क्रमशः व्यक्ति केन्द्रित बन्दै जाँदा प्रतिस्पर्धात्मक लोकतन्त्र कमजोर भएको अनुभूति छ। विकल्पबारे खुला बहस हुन नसक्दा क्षेत्र राजनीतिक रूपमा 'बन्धक' बनेको जस्तो महसुस हुने आवाजहरू पनि सुनिन्छन्।
यही पृष्ठभूमिमा पुनम यादवको उम्मेदवारीलाई धेरैले 'परिवर्तनको अवसर' भनेर व्याख्या गर्न थालेका छन्। तर, प्रश्न अझै बाँकी छ, के केवल नयाँ अनुहारले पुग्छ, कि प्रणालीगत सुधार र पारदर्शिताको स्पष्ट मार्गचित्र पनि चाहिन्छ?
यसपटकको प्रतिस्पर्धा व्यक्तिगत लोकप्रियताको मात्र होइन, विश्वसनीयता, कार्यशैली र प्राथमिकताको परीक्षा जस्तो देखिएको छ। मतदातामा देखिएको परिवर्तनको चाहना यदि मतपेटिकासम्म पुग्यो भने, रौतहट-३ को नतिजाले स्थानीय मात्र होइन, प्रदेशस्तरमै राजनीतिक सन्देश दिन सक्ने आकलन भइरहेको छ। पुरानै शैलीलाई निरन्तरता दिने कि वैकल्पिक राजनीतिक संस्कृतितर्फ मोडिने भन्ने निर्णायक घडी बन्ने संकेत देखिन्छ।