: रामेछापमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस आज बिहान त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार ८ जनाको सनाखत भइसकेको छ। सनाखत गर्न आउने परिवारका अनुसार एउटा बच्चा हराएको छ।
८ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको छ। अहिले पनि उद्धार कार्य जारी छ। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
अरनिको यातायात समितिका अनुसार जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले मात्रै टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए। बसमा बीच बाटोबाट कति जना यात्रु चढेका थिए खुल्न सकेको छैन।