: निर्वाचन आचार संहिता २०८२ को परिच्छेद ३ ले जनप्रतिनिधिहरूलाई उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्न निषेध गरेको छ। तर यसको उल्लंघन गर्दै प्यूठानका जनप्रतिनिधिहरू धमाधम निर्वाचन प्रचार प्रसारमा संलग्न छन्।
जनप्रतिनिधिहरु ‘कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ आचार संहिताको प्रावधान छ। प्यूठानमा रहेका नौ स्थानीय तह र ६४ वडाका सबै प्रतिनिधि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा सक्रिय छन्।
गत माघ ४ गतेदेखि निर्वाचन आचार संहिता लागु भए पनि यसको पालना भने भएको छैन। आचार संहिताको परिच्छेद–३ ले पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। संहिताको दफा ५ ले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख गर्दै प्रचार प्रसारमा संलग्न हुन रोक लगाएको हो।
स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुन सक्ने छुट दिए पनि यसैलाई दुरुपयोग गर्दै स्थानीय तहका जनप्रतिनिधिहरू आफू बहाल रहकै स्थानीय तहमा चुनावी प्रचारमा व्यस्त छन्।
केही जनप्रतिनिधिहरूले चुनावी प्रचारमा संलग्न रहेका फोटोहरू सामाजिक सञ्जालमा नराख्ने गरे पनि अधिकांशले त्यस्ता कार्यक्रमहरूको तस्बिर समेत आफैले सार्वजनिक गर्ने गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्यूठानमा १४ राजनीतिक दल आफ्ना उम्मेदवार सहित चुनावी मैदानमा छन्। दलहरूले उम्मेदवार लिएर मतदाता भेटघाटलाई तीव्रता दिएका छन्।