— आज म लोकतन्त्र र यसको संरचनाबारे कुरा गर्न गइरहेको छु । धेरै बुद्धिमानीपूर्वक यो कुरा औंल्याइएको छ कि लोकतन्त्र केवल मतपेटिकाबाट मात्र हासिल हुँदैन । कुनै राजनीतिक दल सत्तामा आएपछि उसले जे मन लाग्यो त्यही गर्ने अधिकार हुँदैन । लोकतन्त्रको एउटा स्पष्ट संरचना हुन्छ र त्यो संरचनाभित्र रहेर काम गर्नुपर्छ तथा त्यसको सम्मान गर्नुपर्छ ।
लोकतन्त्रको संरचना मानवअधिकारका सिद्धान्तहरूमा आधारित हुन्छ । उदाहरणका लागि अभिव्यक्ति स्वतन्त्रता । अर्को शब्दमा भन्नुपर्दा, बहुमत प्राप्त गरेर सत्तामा आएको राजनीतिक दलले अल्पमतका अधिकार कुल्चने अधिकार पाउँदैन । उसले सम्मान गर्नुपर्छ, सुन्नुपर्छ र अल्पसंख्यक समुदाय तथा समाजका अधिकारहरूको रक्षा गर्नुपर्छ ।
एक राजनीतिक कार्यकर्ता, जसले लोकतन्त्रबारे शिक्षण गरेको छ र लोकतन्त्रका लागि संघर्ष गरेको छ, म साँच्चै विश्वास गर्छु कि लोकतन्त्र भनेको चुनावमा हारेका, अल्पसंख्यकमा परेका मानिसहरूको संरक्षण र रक्षा गर्नु हो । लोकतन्त्रकै कारण आज हामी सभ्यताको चरणमा आइपुगेका छौं । मानिसहरूले अब बुझेका छन् कि पुराना मानसिकताहरू नयाँ पुस्ताको माग र अधिकारको चेतनासँग मेल खाँदैनन् । जनताको अधिकारप्रतिको चेतना बढ्दै गएको छ ।
ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
अर्को शब्दमा भन्नुपर्दा, कुनै देश निश्चित विचारधाराले मात्र शासित हुनु हुँदैन । म आएको देश, इस्लामिक गणतन्त्र इरान, एक धार्मिक शासन (थियोक्रेसी) भएको देश हो, जहाँ धर्ममा आधारित कानुनहरू लागू गरिएका छन् । त्यहाँ जनतालाई विश्वास गर्न वा सोच्न स्वतन्त्रता दिइँदैन । केही देशहरू फरक–फरक विचारधारामा अडिग रहन्छन् र जनताको कुरा सुन्नुको सट्टा ती विचारधारातर्फ फर्किन खोज्छन् ।
यही कारणले गर्दा मेरो देशमा विगत चार दशकभन्दा बढी समयदेखि जनताले यो धार्मिक निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरू आफ्ना आवाज सुनिएको देख्न चाहन्छन् र लोकतन्त्रका लागि संघर्ष गरिरहेका छन् ।
जब मैले सन् २०२५ को सेप्टेम्बरमा तपाईंको देशमा भएको जेन–जी आन्दोलनबारे पढें, मैले त्यसलाई अत्यन्तै चासोका साथ पछ्याएँ । म जान्न चाहन्थें, के कारणले तपाईंको देशमा यस्तो आन्दोलन भयो ? युवाहरूले किन आवाज उठाए ?
तपाईंको देशमा स्वतन्त्र निर्वाचन हुन्छ भन्ने कुरा मलाई थाहा छ र राजनीतिक दल तथा गठबन्धनहरू स्वतन्त्र चुनावबाटै निर्वाचित भएका छन् । तर तपाईंको देशका युवाहरूले कुप्रबन्धन भएको महसुस गरे । लोकतन्त्र पछाडि धकेलिएको ठाने । र, त्यसैकारण उनीहरूले विरोध प्रदर्शन गरे ।
ads/whatsapp-image-2026-02-08-at-172027-0822026123910.jpg
मलाई यो सुनेर दुःख लाग्यो कि ती आन्दोलनहरूमा केही प्रदर्शनकारीहरू मारिए । म जेन–जी आन्दोलनका पीडित परिवारहरू र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।
तपाईंको देशका युवाहरूको आवाज सुनियो । सरकारले राजीनामा दियो र मैले सुनेअनुसार करिब तीन हप्ताभित्रै प्रारम्भिक निर्वाचन हुने भएको छ । म तपाईंको जेन–जी पुस्ताप्रति गहिरो सम्मान व्यक्त गर्दछु । तर आफ्नै अनुभवका आधारमा म युवाहरूलाई एउटा सानो सल्लाह दिन चाहन्छु, ताकि यस्तो अवस्था फेरि नदोहोरियोस् ।
यद्यपि तपाईंको देशमा बहुदलीय व्यवस्था र स्वतन्त्र निर्वाचन छ, तैपनि युवाहरूले सरकारको कुप्रबन्धनप्रति आफ्नो असन्तुष्टि शान्तिपूर्ण रूपमा व्यक्त गरे । तर मैले के पनि देखें भने युवाहरूले आन्दोलन त गरे तर समाधान प्रस्तुत गर्ने दिशामा खासै अगाडि बढेनन् । उनीहरू थकित र निराश भएको भन्छन् । केवल आवाज उठाउनु मात्र पर्याप्त ठान्छन् । वास्तविक परिवर्तनका लागि उनीहरू आफैं समाधानको हिस्सा बन्नुपर्छ, किनारामा बसेर नारा लगाउनु मात्र पर्याप्त हुँदैन ।
मेरो सल्लाह युवाहरूलाई, जो १८ वर्ष पुगेका छन्, मतदान गर्नुस् । चुनावमा जानुस्, मतदान गर्नुस् । आफूलाई मनपर्ने राजनीतिक दलमा आबद्ध हुनुहोस् । यदि कुनै दल मन पर्दैन भने नयाँ दल गठन गर्नुस् । तर अगाडिको पंक्तिमा उभिएर लड्नुस्, किनारामा उभिएर चिच्याइरहनु हुँदैन ।
ads/bergerf1-0922026064312.jpg
ads/bergerf2-0922026064312.jpg
ads/bergerf3-0922026064313.jpg
युवाहरू, तपाईंहरूले आवाज उठाउनुपर्छ, सहभागिता जनाउनुपर्छ, सक्रिय हुनुपर्छ र जाग्नुपर्छ । भविष्य तपाईंहरूको हातमा छ । तपाईंहरूको सक्रियताबिना भविष्य सम्भव छैन । कृपया अगाडि बढ्नुस्, अग्रपंक्तिमा उभिनुस् र संघर्ष गर्नुस् ।
अब म मेरो देश, इरानको हालैको आन्दोलनबारे केही भन्न चाहन्छु । करिब एक महिनाअघि भएका आन्दोलनमा धेरै युवा सडकमा उत्रिए र धेरै जना सरकारद्वारा मारिए । सन् १९७९ मा हाम्रो देशमा क्रान्ति भयो, तर दुर्भाग्यवश त्यसले धार्मिक शासन स्थापना गर्यो । २१औं शताब्दीमा पनि यो शासन १५औं शताब्दीका नियमअनुसार देश चलाउन खोजिरहेको छ । आज पनि ढुंगाले हानेर मार्ने, चोरको अंग काट्ने जस्ता सजायहरू लागू छन् । लैंगिक आधारमा, धर्मका आधारमा, यौन पहिचानका आधारमा र अल्पसंख्यक समुदायका आधारमा अत्यन्तै विभेदकारी कानुनहरू छन् । यी सबैसँगै चरम भ्रष्टाचार छ, जसका कारण हाम्रो राष्ट्रिय मुद्रा इतिहासकै न्यून स्तरमा पुगेको छ ।
इरान अत्यन्तै धनी देश हो, चौथो ठूलो ग्यास भण्डार, दोस्रो ठूलो तेल भण्डार, प्रशस्त खनिज सम्पदा तर पनि जनसंख्याको दुई तिहाइ गरिबीको रेखामुनि छन् । चार दशकभन्दा बढी समयदेखि जनता निरन्तर सडकमा छन्, निरन्तर आवाज उठाइरहेका छन् । तर शासनले उनीहरूको मागलाई दमन, गोली, फाँसीमार्फत उत्तर दिएको छ ।
ads/laxmi-sunrise-6811-0822026113414.jpg
सेप्टेम्बर २०२२ को आन्दोलन एउटा उदाहरण हो । एउटा युवतीलाई कपाल अलिकति देखिएको कारण प्रहरीले पक्राउ गर्यो र हिरासतमा उनको मृत्यु भयो । त्यसपछि सुरु भएको आन्दोलन ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनका रूपमा विश्वभर चिनियो ।
पहिलो दिनमै करिब ४,००० प्रदर्शनकारी मारिए र राज्य–सञ्चारमाध्यमका अनुसार बीस हजार जना पक्राउ परे । तीन महिनाअघि भएको आन्दोलनमा करिब तीस हजार प्रदर्शनकारी मारिए । सुरक्षा बलले युद्धस्तरका हतियार प्रयोग गरे । यी तथ्यांक सरकारी होइनन्, तर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रमाणित गरेका हुन् ।
शिक्षक संघका अनुसार मारिएका प्रदर्शनकारीहरूमध्ये दुई सय जना विद्यालयका बालबालिका थिए । सरकारले विद्यार्थीहरूमाथि रासायनिक ग्याससमेत प्रयोग गर्यो । मृतकका शव लुकाइन्छ, घाइतेहरू अस्पताल गएपछि पक्राउ गरिन्छ । घाइतेलाई जोगाउन खोज्ने नर्स र डाक्टरहरूसमेत पक्राउ परेका छन्, अहिले करिब ५० जना स्वास्थ्यकर्मी जेलमा छन् ।
सन् १९७९ मा सत्ता कब्जा गर्दा शासनको मुख्य नारा थियो, ‘डेथ टु अमेरिका’ । तर जनताले यस्तो नारालाई कहिल्यै समर्थन गरेनन् । कुनै पनि देशले अर्को देशको विनाशलाई आफ्नो राष्ट्रिय नीति बनाउन मिल्दैन ।
यही गलत विदेश नीतिका कारण १२ दिनको युद्ध भयो, जहाँ इरानी सरकारले इजरायल र अमेरिकासँग सम्बन्धित क्षेत्रमाथि आक्रमण गर्यो । त्यसको प्रतिउत्तरमा इरानमाथि आक्रमण भयो । १२ दिनको युद्धमा १,२०० जनाको मृत्यु भयो । तर जनताको आन्दोलनमा केही दिनमै तीस हजार मारिए । यसले शासनको निर्दयता स्पष्ट देखाउँछ ।
ads/globalimebank4x3-0822026115544.jpg
ads/vianet-43-0822026115633.png
ads/nepatop-43-0822026114327.jpg
इरानका युवाहरू, हाम्रो जेन–जी मौन बसेका छैनन् । उनीहरू हार मान्नेवाला छैनन् । सानै उमेरदेखि राजनीति बुझ्छन्, सरकारको आलोचना गर्छन्, निगरानी गर्छन् । र, म विश्वासका साथ भन्छु, यदि म केही वर्षपछि फेरि नेपाल आएँ भने म इरानी जनताको विजयको शुभ समाचार लिएर आउनेछु । किनकि हाम्रा महान् जनता कहिल्यै हार मान्दैनन् र अन्ततः उनीहरूले जित्नेछन् । (कान्तिपुर कन्क्लेभ–२०२६ की प्रमुख वक्ता एबादीले राखेको धारणाको सम्पादित अंश)