मुख्य समाचार
युवालाई सन्देश– अग्रपंक्तिमा उभिनुस् र संघर्ष गर्नुस्
युवालाई सन्देश– अग्रपंक्तिमा उभिनुस् र संघर्ष गर्नुस्

— आज म लोकतन्त्र र यसको संरचनाबारे कुरा गर्न गइरहेको छु । धेरै बुद्धिमानीपूर्वक यो कुरा औंल्याइएको छ कि लोकतन्त्र केवल मतपेटिकाबाट मात्र हासिल हुँदैन । कुनै राजनीतिक दल सत्तामा आएपछि उसले जे मन लाग्यो त्यही गर्ने अधिकार हुँदैन । लोकतन्त्रको एउटा स्पष्ट संरचना हुन्छ र त्यो संरचनाभित्र रहेर काम गर्नुपर्छ तथा त्यसको सम्मान गर्नुपर्छ ।

लोकतन्त्रको संरचना मानवअधिकारका सिद्धान्तहरूमा आधारित हुन्छ । उदाहरणका लागि अभिव्यक्ति स्वतन्त्रता । अर्को शब्दमा भन्नुपर्दा, बहुमत प्राप्त गरेर सत्तामा आएको राजनीतिक दलले अल्पमतका अधिकार कुल्चने अधिकार पाउँदैन । उसले सम्मान गर्नुपर्छ, सुन्नुपर्छ र अल्पसंख्यक समुदाय तथा समाजका अधिकारहरूको रक्षा गर्नुपर्छ ।

एक राजनीतिक कार्यकर्ता, जसले लोकतन्त्रबारे शिक्षण गरेको छ र लोकतन्त्रका लागि संघर्ष गरेको छ, म साँच्चै विश्वास गर्छु कि लोकतन्त्र भनेको चुनावमा हारेका, अल्पसंख्यकमा परेका मानिसहरूको संरक्षण र रक्षा गर्नु हो । लोकतन्त्रकै कारण आज हामी सभ्यताको चरणमा आइपुगेका छौं । मानिसहरूले अब बुझेका छन् कि पुराना मानसिकताहरू नयाँ पुस्ताको माग र अधिकारको चेतनासँग मेल खाँदैनन् । जनताको अधिकारप्रतिको चेतना बढ्दै गएको छ ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
अर्को शब्दमा भन्नुपर्दा, कुनै देश निश्चित विचारधाराले मात्र शासित हुनु हुँदैन । म आएको देश, इस्लामिक गणतन्त्र इरान, एक धार्मिक शासन (थियोक्रेसी) भएको देश हो, जहाँ धर्ममा आधारित कानुनहरू लागू गरिएका छन् । त्यहाँ जनतालाई विश्वास गर्न वा सोच्न स्वतन्त्रता दिइँदैन । केही देशहरू फरक–फरक विचारधारामा अडिग रहन्छन् र जनताको कुरा सुन्नुको सट्टा ती विचारधारातर्फ फर्किन खोज्छन् ।

यही कारणले गर्दा मेरो देशमा विगत चार दशकभन्दा बढी समयदेखि जनताले यो धार्मिक निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरू आफ्ना आवाज सुनिएको देख्न चाहन्छन् र लोकतन्त्रका लागि संघर्ष गरिरहेका छन् ।

जब मैले सन् २०२५ को सेप्टेम्बरमा तपाईंको देशमा भएको जेन–जी आन्दोलनबारे पढें, मैले त्यसलाई अत्यन्तै चासोका साथ पछ्याएँ । म जान्न चाहन्थें, के कारणले तपाईंको देशमा यस्तो आन्दोलन भयो ? युवाहरूले किन आवाज उठाए ?

तपाईंको देशमा स्वतन्त्र निर्वाचन हुन्छ भन्ने कुरा मलाई थाहा छ र राजनीतिक दल तथा गठबन्धनहरू स्वतन्त्र चुनावबाटै निर्वाचित भएका छन् । तर तपाईंको देशका युवाहरूले कुप्रबन्धन भएको महसुस गरे । लोकतन्त्र पछाडि धकेलिएको ठाने । र, त्यसैकारण उनीहरूले विरोध प्रदर्शन गरे ।

ads/whatsapp-image-2026-02-08-at-172027-0822026123910.jpg
मलाई यो सुनेर दुःख लाग्यो कि ती आन्दोलनहरूमा केही प्रदर्शनकारीहरू मारिए । म जेन–जी आन्दोलनका पीडित परिवारहरू र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

तपाईंको देशका युवाहरूको आवाज सुनियो । सरकारले राजीनामा दियो र मैले सुनेअनुसार करिब तीन हप्ताभित्रै प्रारम्भिक निर्वाचन हुने भएको छ । म तपाईंको जेन–जी पुस्ताप्रति गहिरो सम्मान व्यक्त गर्दछु । तर आफ्नै अनुभवका आधारमा म युवाहरूलाई एउटा सानो सल्लाह दिन चाहन्छु, ताकि यस्तो अवस्था फेरि नदोहोरियोस् ।

यद्यपि तपाईंको देशमा बहुदलीय व्यवस्था र स्वतन्त्र निर्वाचन छ, तैपनि युवाहरूले सरकारको कुप्रबन्धनप्रति आफ्नो असन्तुष्टि शान्तिपूर्ण रूपमा व्यक्त गरे । तर मैले के पनि देखें भने युवाहरूले आन्दोलन त गरे तर समाधान प्रस्तुत गर्ने दिशामा खासै अगाडि बढेनन् । उनीहरू थकित र निराश भएको भन्छन् । केवल आवाज उठाउनु मात्र पर्याप्त ठान्छन् । वास्तविक परिवर्तनका लागि उनीहरू आफैं समाधानको हिस्सा बन्नुपर्छ, किनारामा बसेर नारा लगाउनु मात्र पर्याप्त हुँदैन ।

मेरो सल्लाह युवाहरूलाई, जो १८ वर्ष पुगेका छन्, मतदान गर्नुस् । चुनावमा जानुस्, मतदान गर्नुस् । आफूलाई मनपर्ने राजनीतिक दलमा आबद्ध हुनुहोस् । यदि कुनै दल मन पर्दैन भने नयाँ दल गठन गर्नुस् । तर अगाडिको पंक्तिमा उभिएर लड्नुस्, किनारामा उभिएर चिच्याइरहनु हुँदैन ।

ads/bergerf1-0922026064312.jpg
ads/bergerf2-0922026064312.jpg
ads/bergerf3-0922026064313.jpg
युवाहरू, तपाईंहरूले आवाज उठाउनुपर्छ, सहभागिता जनाउनुपर्छ, सक्रिय हुनुपर्छ र जाग्नुपर्छ । भविष्य तपाईंहरूको हातमा छ । तपाईंहरूको सक्रियताबिना भविष्य सम्भव छैन । कृपया अगाडि बढ्नुस्, अग्रपंक्तिमा उभिनुस् र संघर्ष गर्नुस् ।

अब म मेरो देश, इरानको हालैको आन्दोलनबारे केही भन्न चाहन्छु । करिब एक महिनाअघि भएका आन्दोलनमा धेरै युवा सडकमा उत्रिए र धेरै जना सरकारद्वारा मारिए । सन् १९७९ मा हाम्रो देशमा क्रान्ति भयो, तर दुर्भाग्यवश त्यसले धार्मिक शासन स्थापना गर्‍यो । २१औं शताब्दीमा पनि यो शासन १५औं शताब्दीका नियमअनुसार देश चलाउन खोजिरहेको छ । आज पनि ढुंगाले हानेर मार्ने, चोरको अंग काट्ने जस्ता सजायहरू लागू छन् । लैंगिक आधारमा, धर्मका आधारमा, यौन पहिचानका आधारमा र अल्पसंख्यक समुदायका आधारमा अत्यन्तै विभेदकारी कानुनहरू छन् । यी सबैसँगै चरम भ्रष्टाचार छ, जसका कारण हाम्रो राष्ट्रिय मुद्रा इतिहासकै न्यून स्तरमा पुगेको छ ।

इरान अत्यन्तै धनी देश हो, चौथो ठूलो ग्यास भण्डार, दोस्रो ठूलो तेल भण्डार, प्रशस्त खनिज सम्पदा तर पनि जनसंख्याको दुई तिहाइ गरिबीको रेखामुनि छन् । चार दशकभन्दा बढी समयदेखि जनता निरन्तर सडकमा छन्, निरन्तर आवाज उठाइरहेका छन् । तर शासनले उनीहरूको मागलाई दमन, गोली, फाँसीमार्फत उत्तर दिएको छ ।

ads/laxmi-sunrise-6811-0822026113414.jpg
सेप्टेम्बर २०२२ को आन्दोलन एउटा उदाहरण हो । एउटा युवतीलाई कपाल अलिकति देखिएको कारण प्रहरीले पक्राउ गर्‍यो र हिरासतमा उनको मृत्यु भयो । त्यसपछि सुरु भएको आन्दोलन ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनका रूपमा विश्वभर चिनियो ।

पहिलो दिनमै करिब ४,००० प्रदर्शनकारी मारिए र राज्य–सञ्चारमाध्यमका अनुसार बीस हजार जना पक्राउ परे । तीन महिनाअघि भएको आन्दोलनमा करिब तीस हजार प्रदर्शनकारी मारिए । सुरक्षा बलले युद्धस्तरका हतियार प्रयोग गरे । यी तथ्यांक सरकारी होइनन्, तर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रमाणित गरेका हुन् ।

शिक्षक संघका अनुसार मारिएका प्रदर्शनकारीहरूमध्ये दुई सय जना विद्यालयका बालबालिका थिए । सरकारले विद्यार्थीहरूमाथि रासायनिक ग्याससमेत प्रयोग गर्‍यो । मृतकका शव लुकाइन्छ, घाइतेहरू अस्पताल गएपछि पक्राउ गरिन्छ । घाइतेलाई जोगाउन खोज्ने नर्स र डाक्टरहरूसमेत पक्राउ परेका छन्, अहिले करिब ५० जना स्वास्थ्यकर्मी जेलमा छन् ।

सन् १९७९ मा सत्ता कब्जा गर्दा शासनको मुख्य नारा थियो, ‘डेथ टु अमेरिका’ । तर जनताले यस्तो नारालाई कहिल्यै समर्थन गरेनन् । कुनै पनि देशले अर्को देशको विनाशलाई आफ्नो राष्ट्रिय नीति बनाउन मिल्दैन ।

यही गलत विदेश नीतिका कारण १२ दिनको युद्ध भयो, जहाँ इरानी सरकारले इजरायल र अमेरिकासँग सम्बन्धित क्षेत्रमाथि आक्रमण गर्‍यो । त्यसको प्रतिउत्तरमा इरानमाथि आक्रमण भयो । १२ दिनको युद्धमा १,२०० जनाको मृत्यु भयो । तर जनताको आन्दोलनमा केही दिनमै तीस हजार मारिए । यसले शासनको निर्दयता स्पष्ट देखाउँछ ।

ads/globalimebank4x3-0822026115544.jpg
ads/vianet-43-0822026115633.png
ads/nepatop-43-0822026114327.jpg
इरानका युवाहरू, हाम्रो जेन–जी मौन बसेका छैनन् । उनीहरू हार मान्नेवाला छैनन् । सानै उमेरदेखि राजनीति बुझ्छन्, सरकारको आलोचना गर्छन्, निगरानी गर्छन् । र, म विश्वासका साथ भन्छु, यदि म केही वर्षपछि फेरि नेपाल आएँ भने म इरानी जनताको विजयको शुभ समाचार लिएर आउनेछु । किनकि हाम्रा महान् जनता कहिल्यै हार मान्दैनन् र अन्ततः उनीहरूले जित्नेछन् । (कान्तिपुर कन्क्लेभ–२०२६ की प्रमुख वक्ता एबादीले राखेको धारणाको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको ...
: निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न आयोगले निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन् । जिल्लाको मुख्य बजार क्षेत्र सुनवल, परासी, बेलासपुर, महेशपुर, भुजहवा, सूर्यपुरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज, जिमिरेभार र बर्दघाटमा मतदाता भेटघाट र चुनावी कार्यक्रममा उनी सहभागी भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सोमबार आचारसंहिता विपरितका कार्यक्रम नगर्न सूचना प्रकाशित ...
: नेपाली कम्युनिष्ट पार्टीले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ। वर्तमान निर्वाचन प्रणालीअन्तर्गत एकै पार्टीले बहुमत प्राप्त गरी पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्युन रहेकोले नेपाली जनताका विभिन्न कालखण्डका संघर्ष, बलिदान तथा पछिल्लो नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप राजनीतिक स्थिरताका लागि संविधान ...
— काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न महानगरको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी ...