: देवाही गोनाही नगरपालिकामा खेतमा घाँस काट्ने विषयमा सुरू भएको सामान्य विवाद उग्र बन्दा तीन महिला गम्भीर घाइते भएका छन् । एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार राति वडा नम्बर -५ टीकुलिया गाउँमा भएको कुटपिटमा महेश तिवारीकी छोरीहरू २५ वर्षीया अस्मिता तिवारी र १५ वर्षीया सुस्मिता तिवारी तथा बचेलाल मुखिया बिनकी श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएका हुन्।
घाइतेमध्ये अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उनीहरूको कलैयास्थित ए प्लस अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ र अवस्था क्रमशः सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ४० वर्षीय शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको रौतहट प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सिताराम रिजाल जानकारी दिए ।
प्रहरीका अनुसार विवादको जड आइतबारको घटनासँग जोडिएको छ। महेश तिवारीको तोरीबारीमा शंकर रायको घरका महिलाले घाँस काटेको विषयमा असन्तुष्टि जनाउँदै अस्मिता तिवारीले सोमबार साँझ गुनासो गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो। सोही विवादले पछि झडपको रूप लिएको बताइएको छ।
आरोप अनुसार,विवादपछि शंकर राय यादव, उनका छोरा शम्भु यादव र परिवारका अन्य सदस्यहरू तिवारीको घरमा प्रवेश गरी कुटपिट गरेका थिए। झगडा छुट्याउन पुगेकी छिमेकी अनतिया बिनसमेत आक्रमणमा परेकी थिइन्। घटनाबारे थप अनुसन्धान जारी रहेको उपरीक्षक रिजालले जानकारी दिए ।