। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो तथ्य खुलेको हो । नवलपरासीको कावासोती नगरपालिका–१३ घर भएका हवल्दार सुनारको योजनामा १४ माघको दिउँसै काठमाडौं महानगरपालिका–१४ स्थित घ्याङखेलमा लुटपाट भएको हो ।
यो लुटपाट प्रकरणमा उनीसहित अहिलेसम्म चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा हवल्दार सुनारसँगै रसुवाको नौकुण्ड गाउँपालिका–३ पार्चा घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३२ वर्षीय विक्रम तामाङ, काभ्रेको रोशी गाउँपालिका–१० घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने २७ वर्षीय दीपक आले मगर र नुवाकोटको ककनी गाउँपालिका–७ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने बस्न् २८ वर्षीय जीवन तामाङ छन् ।
दीपक १८ माघमा भक्तपुरको श्रृजनानगरबाट, १८ माघमै जीवन तामाङलाई काठमाडौंको बाइपासबाट, १८ माघमै विक्रमलाई बाइसपासबाट र २० माघमा हवल्दार कर्णलाई टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
उनीहरूबाट ९ लाख ४२ हजार नगद, ५ थान मोबाइल, ३ थान मोटरसाइकल र १३ थान सीमकार्ड बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
२ महिनाको प्रयासपछि लुटपाट
दुई महिनाको प्रयासपछि उनीहरुले एक सुनचाँदी व्यवसायीको रकम लुटेको पाइएको छ । यो समूहका सदस्यले आफूहरुसँग बिलसहितको सुन रहेको भन्दै ताप्लेजुङ घर भइ ललितपुरमा सुनचाँदी व्यवसाय गर्ने व्यक्तिलाई सम्पर्क गरेका थिए ।
ती व्यक्तिलाई यसरी विश्वास दिइएइको थियो, उनले आफू ठगिने वा लुटिन सक्छु भन्ने नै शंका नगरेको प्रहरी अधिकारीहरू बताउँछन् । दुई महिनासम्म निरन्तर फलो गर्दै सुनका गरगहनाका फोटो पठाउने, बिल पठाउने गरेको पाइएको छ ।
सुन र बिल समेत पठाएर बजार भाउभन्दा निकै सस्तो दरमा सुन दिने बताएपछि ती व्यवसायीले विश्वासमा परेका थिए । त्यसपछि सुन किनबेच गर्ने निधो भएको थियो ।
त्यसका लागि एकान्त लोकेशन हवल्दारको समूहले दिएको थियो । उनीहरुले दिएको लोकेशनअनुसार तीन सुनचाँदी व्यसायी अरु दुई जना साथी लिएर काठमाडौं महानगरपालिका–१४ घ्याङखेल पुगेका थिए । बल्खु क्षेत्रमा पर्ने यो ठाउँका एकान्तमा रहेको एउटा खाजा घरमा ती सुनचाँदी व्यवसायीलाई लगेर ६० लाख लुटिएको प्रहरीले बताएको छ ।
प्रहरी अपरेशन भन्दै लुटपाट
उक्त खाजाघरमा सुन किनबेचबारे डिल भइरहेका बेला पूर्वयोजनाअनुसार हवल्दार सुनारको समूहले पुगेको थियो । सुनारले आफूहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भएको परिचय दिए ।
एक अनुसन्धान अधिकारी भन्छन्, ‘तिमीहरू यस्तो ठाउँमा अवैध कारोबार गर्ने ?, तिमीहरूलाई लगेर थुन्छ भन्दै पिटपाट गरेर सुन किन्न भनेर ल्याएको ६० लाख लुटपाट गरेको देखिन्छ ।’
सुनचाँदी व्यवसायीसँगै गएका दुई जनालाई समेत कुट्दै उनीहरुको मोबाइल थुतिएको र ६० लाख रुपैयाँ लुटिएको प्रहरीले बताएको छ । तर आफ्नो ६० लाख लुटिने व्यवसायीलाई भने प्रहरीले अपरेशन गरेको जस्तो देखाउन खोजिएको थियो ।
पूर्वयोजनाअनुसार केही व्यक्ति गएर सुनको डिल गर्ने र त्यही बेलामा अर्को समूह गएर प्रहरी भन्दै अपरेशन गरेको निहुँ देखाएर लुटपाट भएको थियो ।
५ जना अझै फरार
यो लुटपाटमा प्रहरी हवल्दारसहित चार जना पक्राउ परे पनि करिब पाँच जना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडित व्यवसायीका अनुसार पनि ९/१० जनाको समूह आएर लुटपाट गरेको थियो ।
फरार रहेका पाँच जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । उनीहरुको पहिचान भएको बताइए पनि पक्राउ पर्न भने बाँकी नै छ ।
पक्राउ परेकाहरूलाई डाँका चोरीको कसुरमा अनसन्धान अघि बढाइएको छ । लुटपाटमा संलग्नहरुले लुटिसकेपछि रकम बाँडफाड गरेको समेत भेटिएको छ । यो प्रकरणमा संलग्न थप पाँच जना पक्राउ पर्न बाँकी नै रहेकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।