। रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।
मंगलबार दिउँसो बुटवल ११ होराइजन चोकमा खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए ।
पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ’?, ‘सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।
तर सहकारी पीडित जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल आफूहरू रहेको ठाउँबाट सय मिटर दूरीमा रहेको एल डोराडो रेष्टुरेन्टभित्र गएर बसेका पीडितमध्येका एक सोनु श्रेष्ठले बताए ।
सहकारी पीडित देखेपछि खरेल एक घण्टासम्म रेष्टुरेन्टबाट बाहिर ननिस्केपछि आफूहरू त्यहांबाट हिंडेको उनको भनाइ छ ।
‘उहाँ (खरेल) घरदैलोमा हुनुहुन्छ भन्ने थाहा पाएर हामी हाम्रो बचत कहिले फिर्ता हुन्छ भन्ने सोध्न आएका थियौं तर हामीलाई देखेपछि उहाँ रेष्टुरेन्टबाट एक घण्टासम्म कुर्दा पनि बाहिर निस्कनुभएन’, श्रेष्ठको गुनासो थियो, ‘उहाँ बाहिर नआएपछि नभेटी हामी फेरि अर्कोपटक प्रदर्शन गर्ने भनेर निस्क्यौं ।’
उनले थप भनेका छन्, ‘हामीले दु:ख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? हामीलाई यसको जवाफ दिनुपर्यो नि । ‘यही प्रश्न सोध्न आएको थियौंैैं तर भेट्न पाएनौं, हाम्रो परिवारका दुईजनाको ११ लाख फिर्ता हुनुपर्नेछ ।’
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ ।
सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको विषयमा उमेदवार खरेलले भने अनभिज्ञता प्रकट गरे । उनले चुनावका बेलामा यस्ता घटना हुने भन्दै यो विषय आफ्नो सरोकारको इस्यू नभएको बताए । एल डोराडो रेष्टुरेन्टका कर्मचारी सूर्य क्षेत्रीले रास्वपाका १०–१२ जना मान्छे खाना खान आएको बताए ।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ ।
सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।
रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद शर्मा पौडेल, नेकपाबाट विश्वदीप पाण्डे, हा्रो जनसेवा पार्टीबाट डा. निकोलस भुसाल, प्रलोपाबाट नारायण नागिला लगायत ३९ जना उम्मेदवार छन् ।