मुख्य समाचार
बलियो मानसिकता बोकेर इटालीसँग भिड्दै नेपाल
बलियो मानसिकता बोकेर इटालीसँग भिड्दै नेपाल

: नेपालले आईसीसी टीट्वेन्टी विश्वकप २०२६ अन्तर्गत दोस्रो खेल इटालीसँग बिहीबार खेल्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटालीका लागि नेपाल बलियो प्रतिस्पर्धी हो । नेपालले पहिलो खेल इङ्ल्यान्डसँगको अनुभव लिएर इटालीसँग मैदानमा निस्कँदैछ । यूएईलाई वार्मअप खेलमा १ सय १२ रनको बलियो जित निकालेपछि इटाली बलियो आत्मविश्वाससहित नेपालसँग खेल्ने तयारीमा छ ।




इङ्ल्यान्डसँगको खेलपछि नेपाली खेलाडीको मानसिकता निकै बलियो रहेको छ । इटालीसँगको खेलमा जितका लागि आफूहरू तयार रहेको नेपाली खेलाडी बताउँछन् । नेपालका लागि यो विश्वकपमा ५ जना खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । जसमा नेपालका लागि एकदिवसीय भरपर्दो मानिएका खेलाडी आरिफ शेखले अन्नपूर्णसँग भने, ‘इटाली राम्रो टिम हो ।



हामी इटालीसँगको खेलको लागि तयार छौं । हामी उनीहरूलाई सहज प्रतिद्वन्द्वीको रूपमा भने हेर्ने छैनौं ।’ नेपाली टिम सुपर ८ को लक्ष्य राखेर यो विश्वकप खेलिरहेको उनले बताए । ‘सुपर ८ नपुग्दासम्म हाम्रा लागि हरेक खेल महत्वपूर्ण हुन्छन,’ शेखले भने, ‘इङ्ल्यान्डसँगको खेल जितेको भए हाम्रो लािग सुपर ८ को सम्भावना अझ बलियो हुने थियो ।’



सन् २०१८ मा नेपालको लागि टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आरिफले पहिलोपटक विश्वकप खेल्दै छन् । उनले आफ्नो पहिलो विश्वकपको अनुभव साट्दै भने, ‘मेरो र मेरो परिवारका लागि यो निकै गर्वको क्षण हो । म विश्वकपमा पहिलोपटक मेरो देशको प्रतिनिधित्व गरिरहेको छु । मेरो देश र टिमका लागि चाहिएको अवस्थामा जतिबेला पनि आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु ।’
पहिलोपटक विश्वकप खेलेका आरिफका भाइ आसिफ शेख भने दोस्रो विश्वकप खेल्दै छन् । पहिलोपटक सन् २०२४ को विश्वकप खेलेका आसिफले इटालीसँगको खेलमा टिमको मानसिकता जित्ने नै रहेको बताए । उनले भने, ‘इङ्ल्यान्डसँगको खेलपछि हामीले यो स्तरको खेल खेल्न तयार र लायक छौं भन्ने अनुभव भयो ।’ इङ्ल्यान्डसँगको खेलपछि नेपालले जुनसुकै देशलाई पनि हराउन सक्छ भन्ने आत्मविश्वास नेपाली टिममा आएको आसिफले बताए । ‘हामीले इङ्ल्यान्डसँगको खेलपछि राम्रो क्रिकेट खेल्यौं भने हामीले जस्तोसुकै राष्ट्रलाई पनि हराउन सक्छौं भन्ने अनुभव भयो,’ उनले भने ।

इटालीलाई नेपाली टिमले सहज प्रतिस्पर्धीको रूपमा नलिएको उनले बताए । ‘इटाली राम्रो टिम हो । पछिल्लो समय उनीहरूले राम्रो क्रिकेट खेलिरहेका छन्,’ उनले भने, ‘उनीहरूसँगको खेल सहज भने हुने छैन । हामी हाम्रो ट्रेनिङ सेसनमा गरेको तयारीमा विश्वास राख्छौं । हामी प्रतियोगिताभरि नै हरेक टिमलाई कडा प्रतिस्पर्धा दिने तयारीमा रहेका छौं ।’

नेपाली खेलाडीहरू खेलसँगै मानसिक रूपमा पनि तयार छन् । पहिलो खेलमा इङ्ल्यान्डसँगको झिनो हारपछि कप्तान रोहितकुमार पौडेल केही अनफिल्ड र अफफिल्ड निर्णय र रणनीतिको परिवर्तनको अपेक्षा गर्छन् । उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘केही मैदानभित्रको निर्णयहरू समयमा नै लिन सकेको खण्डमा टिमका लागि राम्रो हुनेथियो ।’ उनले रणनीतिक पक्षमा कुरा गर्दै भने । विश्वकप जस्तो ठूलो स्तरमा खेलिरहँदा मैदानभित्रको दबाब सम्हाल्न सक्नुपर्ने उनले बताए ।

‘विश्वकप खेल्दा दबाब हुन्छ । जसले दबाब झेल्न सक्छ त्यही टिमले जित्ने हो,’ पौडेलले भने, ‘हामीले विश्वकपमा पहिलो खेल नै विश्वको एक उत्कृष्ट टिमसँग खेलिसकेका छौं । त्यसका कारण हामीले इटालीसँगको खेल खेल उच्च मनोबल र आत्मविश्वासका साथ खेल्ने छांै ।’

नेपालले सम्पूर्ण खेल वाङ्खेडे मैदानमा नै खेल्दैछ । यो नेपालको लागि मैदान र पिचको जानकारीको हिसाबले निकै महत्वपूर्ण हुनेछ । नेपालका कप्तान रोहित भन्छन्, ‘समूह चरणको सम्पूर्ण खेलहरू वाङ्खेडेमा नै खेल्न पाउनु हाम्रो लागि पिच र मैदानको हिसाबले निकै
महत्वपूर्ण हुन्छ ।’

इटालीसँगको खेल अगाडि कप्तान रोहित भन्छन्, ‘इटालीलाई सहज टिमको रूपमा लिएका छैनौं । यो स्तरको खेलमा कुनै पनि टिमसँग खेल्नु सहज हुने छैन । उनीहरूले पछिल्लो केही समययता राम्रो क्रिकेट खेलिरहेका छन् । हामीले केही रणनीतिहरू बनाएका छन् । अब त्यो रणनीतिलाई मैदानमा देखाउने समय आएको छ ।’

कप्तान रोहितसँगै एकै टिमबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका शेर मल्लले विश्वकपको पहिलो खेलबाट नेपालको लागि डेब्यु गरे । उनले नेपालको लागि डेब्यु बलमा नै फिल साल्टको विकेट लिँदै सनसनीपूर्ण डेब्यु गरेका थिए । उनले अन्नपूर्णसँग भने, ‘पहिलो खेलपछि नेपाली टिमको मानसिकता र आत्मविश्वास निकै उच्च रहेको छ । हामी गर्न सक्छौं भन्ने विश्वास जागेको छ । इटालीसँगको खेलमा हामी पहिलो खेलमा जस्तो क्रिकेट खेलेका थियौं त्यस्तै क्रिकेट खेल्नेछौं ।’

नेपाललाई राम्रो चुनौती पेस गर्न इटाली तयार
विश्वकपमा डेब्यु टेन्टको रूपमा रहेको इटाली नेपाललाई राम्रो चुनौती दिने तयारीमा रहेको छ । खेल अगाडिको प्रि म्याच प्रेस कन्फ्रेन्समा इटालीका कप्तान वायन म्याडसन भन्छन्, ‘नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ ।’ इटालीको टिम अन्य टिमभन्दा फरक छ । विभिन्न देशको क्रिकेटको अनुभव लिएर आएका खेलाडीहरूलाई समेट्दै इटालीले टिम तयार पारेको छ । यही टिमले २०२६ को टीट्वेन्टी विश्वकपमा यूरोपीयन क्षेत्र छनोटको चरण पार गर्दै आएको हो ।

पहिलो विश्वकपको पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको हार बेहोरेको थियो । कोलकाताको इडन गार्डेनबाट हारको नमिठो अनुभव भुलेर मुम्बईको वाङ्खेडेमा नयाँ इतिहास लेख्न इटालियन टिम तयार रहेको कप्तान म्यडसन र प्रशिक्षक जोन डेभिसनले खेलअघि, डी वाइ पाटेल क्रिकेट स्टेडियममा आयोजना गरिएको प्रि म्याच प्रेस कन्फ्रेन्समा बताए । ‘हामी विश्वकप खेलिरहेका छौं । यो हाम्रो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर हो ।’ कप्तान म्याडसनले भने ।

वाङ्खेडे स्टेडियम भारतीय क्रिकेटको हब हो । यहाँ धेरै ऐतिहासिक खेलहरू भएका छन् । त्यसकारण पनि प्रायः क्रिकेटरको लागि वाङ्खेडे मैदान मात्रै नभएर सपनाको मैदान हो । यसमा इटालीका कप्तान म्याडसन पनि यसलाई सोचभन्दा केही फरक रहेको बताउँछन्। ‘वाङ्खेडेमा खेल्नु हाम्रो लागि सामान्यभन्दा केही फरक हो ।

हामी त्यसका लागि निकै उत्साहित छौं । नेपालको पछिल्लो खेलमा आएको ठूलो समर्थकको जमात हेरेपछि त्यहाँ खेल्न निकै उत्साहीत छौं ।’ नेपाल र इटालीको एक गजबको संयोग जुर्दैछ । जहाँ नेपाल र इटालीले १३ वर्षपछि एकअर्काको सामना गर्दैछन् । नेपाल र इटालीले यसअघि भने २००५ मा विश्वकप लिग २ क्वालिफार्यर, सन् २०१० मा डिभिजन ४ र २०१३ डिभिजन ३ को खेलहरू खेलेको थियो । त्यसपछि नेपाली क्रिकेटले ३ पटक टीट्वेन्टी विश्वकप खेलिसकेको छ । एकदिवसीय वरियता प्राप्त राष्ट्र भइसकेको छ । १३ वर्षपछि यी दुई राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् ।

तर, कप्तान म्याडसन भने नेपालसँग जितकै लागि खेल्ने बताए । ‘हामी नेपालसँग जितकै लाग खेल्ने छौं । हामी सकरात्मक छौं । हामी यो विश्वकपमा जितका लागि नै खेल्नेछौं । ठूलो समर्थकहरूको अगाडि हामी खेल्नका लागि निकै उत्साहित छौं ।’

१९ औं शताब्दीका निकै सकारात्मक रहेको इटालीयन क्रिकेट त्यसपछि भने फुटबलको छायाँमा परेको थियो । यस विषयमा कप्तान वायन म्याडसन भन्छन्, ‘पछिल्लो १० वर्षयता इटालीमा क्रिकेट पुनः सक्रिय हुन थालेको छ । आगामी पुस्तालाई शुभकामना भन्न चाहन्छु । अहिले क्रिकेट बोर्ड, आईसीसी तथा त्यहाँको लोकल स्पोन्सरहरूले पनि क्रिकेटमा लगानी गरिरहेका छन् ।

जसले इटालीमा क्रिकेटको भविष्य उज्वल रहेको छ ।’ पहिलो खेलमा हार बेहोरेको इटाली दोस्रो खेलमा नेपालसँग कमब्याकको सोचसहित मैदान उत्रनेछ । प्रशिक्षक जोन डेभिसन भन्छन्, ‘२ सयमाथिको लक्ष्य पछ्याउनु आफैंमा सहज थिएन । त्यसैमा वायनलाई खेलमा छिट्टै गुमाउनु पर्दा लक्ष्य पछ्याउन गाह्रो भयो । दोस्रो खेलमा केही रणनीतिक सुधारसहित हामी आउनेछौं ।’

नेपाल र इटालीले यसअघि भने २००५ मा विश्वकप लिग २ क्वालिफार्यर, सन् २०१० मा डिभिजन ४ र २०१३ डिभिजन ३ को खेलहरू खेलेको थियो । त्यसपछि नेपाली क्रिकेटले ३ पटक टीटेन्टी विश्वकप खेलिसकेको छ । एकदिवसीय वरियता प्राप्त राष्ट्र भइसकेको छ । १३ वर्षपछि यी दुई राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले इटालीसँग १०–१५ वर्षअघि केही प्रतिस्पर्धा विश्व क्रिकेट लिगमा गर्ने गरेको थियो । डीवाई पाटिल रंगशालाभित्र बुधबार ट्वान्टी–२० विश्वकपको खेलअघि आयोजित पत्रकार सम्मेलनमा इटालियन टोलीका कप्तान र प्रशिक्षकमाथि त्यसै सम्बन्धित प्रश्न वर्षिएको थियो । पत्रकार सम्मेलनपछि नेपाली मिडिया एक हुल एउटा कुनामा थियो । इटालीका प्रशिक्षक जोन डेभिसन त्यही कुनातिर पुगे । पत्रकार सम्मेलनमा गरिएको प्रश्नको भाव मिलाउँदै उनले ...
। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालसँगको खेलअघि इटलीका कप्तान वायन म्याड्सेन र प्रशिक्षक जोन डेभिसनले वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । बुधबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान म्याड्सेनले वाङ्खेडे विश्व क्रिकेटकै प्रतिष्ठित मैदान भएको भन्दै यहाँ भरिपूर्ण दर्शकसामू खेल्न पाउनु ठूलो अवसर भएको बताए । उनले नेपाली समर्थकको उपस्थितिले वातावरण ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र न्यायाधीश अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचन सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै यसअघि पुस २८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गर्दै निर्वाचनको बाटो खुला गरेको हो । यसअघि पाटन ...
। आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले कीर्तिमानी साझेदारीका साथ यूएईलाई १० विकेटले पराजित गरेको हो । यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गरेको हो । ओपनर टिम सेइफर्टले अविजित ८९ तथा फिन एलेनले ...
। वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले अहिले भइरहेको आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्नेतर्फ आफूहरूको ध्यान नरहेको बताएका छन् टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्डसँग बुधबार हुने खेलअघि मंगलबार वाङ्खेडे स्टेडियममा भएको प्रि म्याच प्रेस कन्फेरेन्समा सामीले ३०० रन हान्नेतर्फ भन्दा पनि कन्डिशन अनुसार खेल्ने बताए । ‘३०० रन हामी हान्दैनाैं। हामी कन्डिसन अनुसार खेल्छाैं’ ...