: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन देश जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई भएको बताएका छन् ।
बागलुङको बुत्र्तिबाङमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आसन्न निर्वाचनमा उम्मेदवारहरुबीच मात्र नभई देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबैखाले अतिवाद र विध्वंशकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिबीच प्रतिष्पर्धा हुने बताए ।
भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको बताउँदै उनले त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर संकटबाट जोगाएको दावी गरे ।
सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्ने मात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेन जस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी थियो ।
‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेन जस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,’ उनले भने, ‘त्यो सफल भएको भए अझ ठूलो दुर्घटना हुन्थ्यो । त्यसबाट बचाउन हामीले सहजीकरण गर्यौँ ।’
उक्त घटनाबाट संविधान केही हदसम्म घाइते भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो। युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । उनले यो चुनावलाई राष्ट्रको वृहत्तर हित, स्वाधीनता, स्वतन्त्रता र नेपाली नागरिकको आत्मनिर्णयको अधिकार रक्षा गर्ने लडाईंका रुपमा लिन समेत आग्रह गरे ।