: जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। विमानस्थल र आसपासका क्षेत्रमा फागुन १ गते प्रदर्शन र भेला गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ।
स्थानीय प्रशासनका अनुसार बिहीबारदेखि लागू हुनेगरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजना बढी व्यक्ति भेला भइ अनसन,धर्ना,घेराउ,जुलुस,प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भनिएको छ,'विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र,पार्किङ क्षेत्रलगायत विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन,धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।'
निषेधित र संवेदनशील क्षेत्रमा कानुन विपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने जनाएको छ।