मुख्य समाचार
टीपीएस खारेजको निर्णय अमेरिकी अदालतबाट सदर
टीपीएस खारेजको निर्णय अमेरिकी अदालतबाट सदर

— अमेरिकी सरकारले गत वर्ष ५ अगस्टमा खारेज गरेको अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात् टेम्पोररी प्रोटेक्ट स्टाटस (टीपीएस) बारे अदालतले नयाँ आदेश जारी गरेको छ । सोमबार पुनरावेदन अदालतको नाइन्थ सर्किट प्यानलले टीपीएस खारेज गर्ने अमेरिकी सरकारको निर्णयलाई निरन्तरता दिने नयाँ आदेश जारी गरेको हो ।

यसअघि ३१ डिसेम्बर २०२५ मा तल्लो अदालतले टीपीएस खारेज गर्ने अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय यूएस डिपाट्मेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को निर्णयलाई बदर गरिदिएको थियो । तल्लो अदालतको निर्णयले टीपीएसवाहक नेपालीका लागि केही समय अमेरिका बसाइ लम्बिएको थियो । तल्लो अदालतकी न्यायाधीश ट्रिना एल थम्पसनले टीपीएस खारेजी नियमानुसार नभएको भन्दै सरकारको निर्णय विपरीत आदेश दिएकी थिइन् ।

त्यसअघि डीएचएसको निर्णयलगत्तै क्यालिफोर्नियाको अदालतले गत वर्ष १८ नोभेम्बरसम्म टीपीएस खारेज रोकेको थियो । तर, तल्लो अदालतले गरेको आदेशलाई उल्टाउँदै सोमबार पुनरावेदन अदालतले सरकारले गरेको खारेजी निर्णयलाई निरन्तरता दिने नयाँ आदेश दिएको हो । यसले नेपाल, निकारागुवा र होन्डुरसका नागरिकको टीपीएस हाललाई अन्त्य भएको छ ।

हाललाई सकियो टीपीएसवाहक ७ हजार १ सय ६० नेपालीको अमेरिका बसाइटीपीएस खारेज गर्ने निकाय होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोयमले सम्बन्धित निकायहरूसँग परामर्श गरेको र नेपाल, निकारागुवा र होन्डुरसको अवस्थालाई ध्यानमा राखेर नै टीपीएस अन्त्य गर्ने वैध कारण दिएको देखिएको उल्लेख गरेकी छन् । टीपीएस खारेज गर्ने सरकारको निर्णयलाई निरन्तरता दिने न्यायाधीशको प्यानलमा माइकल हकिन्स, कोन्सुएलो कालाहान र एरिक मिलर थिए ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
पुनरावेदनको आदेशपछि होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी नोयमले विधिको शासनको जित भएको बताएकी छन् । उनले अमेरिकी संविधानको औचित्य पुष्टि भएको दाबीसमेत गरेकी छन् । ‘अघिल्लो सरकारले अमेरिकामा आपराधिक गतिविधि बढाउन सक्ने व्यक्तिलाई प्रवेश गराएको थियो,’ उनले भनिन्, ‘हामीले त्यो अवस्था अन्त्य गरेका छौं । टीपीएस स्थायी होइन र स्थायी बनाउनका लागि ल्याइएको प्रावधान होइन ।’

अदालतको नयाँ आदेशसँगै टीपीएसमा अमेरिकामा बसोबास गर्दै आएका ७ हजार १ सय ६० नेपालीको बसाइ अवधि हाललाई सकिएको छ । अमेरिकी संस्था फोरम टुगेदरले सार्वजनिक गरेको तथ्यांकअनुसार ३१ मार्च २०२५ सम्म अमेरिकामा १७ देशका १२ लाख ९७ हजार ६ सय ३५ जना टीपीएसवाहक छन् ।

तीमध्ये डीएचएसले ५ अगस्त २०२५ मा नेपालसहित निकारागुवा र होन्डुसका नागरिकको मात्र टीपीएस खारेज गरिदिएको हो । नेपालीसँगै अदालतको आदेशका कारण निकारागुवाका २ हजार ९ सय १० र होन्डुरसका ५१ हजार २ सय २५ ले अमेरिका छाड्नुपर्ने देखिन्छ ।

अमेरिकी सरकारले १७ देशमध्ये सबैभन्दा बढी भेनेजुएलाका ६ लाख ५ हजार १५ र सबैभन्दा कम लेबनानका १ सय ४० जनालाई टीपीएस उपलब्ध गराएको थियो । न्युयोर्कका अध्यागमन अधिवक्ता वासु फुलाराले नेपालीको टीपीएस खारेजको यो निर्णय अन्तिम नहुने आकलन गरेका छन् । उनले टीपीएसबारे मुद्दा जारी नै रहने र माथिल्लो (सर्वोच्च) अदालतमा यो मुद्दा जान सक्ने बताएका छन् ।

‘टीपीएसबारे अदालतको प्रक्रियामा यो अन्तिम आदेश नहुन सक्छ’, उनले भने, ‘सर्वोच्च अदालतमा यो मुद्दा अघि बढ्न सक्छ । त्यहाँबाट भएको आदेश अन्तिम हुन सक्छ ।’ अधिवक्ता फुलाराले अधिकांश टीपीएसवाहक नेपाली अमेरिकामा स्थायी बसोबासका लागि कानुनी प्रक्रियामा रहेकाले अदालतको अन्तिम आदेश र डीएचएसको निर्णय पूर्ण कार्यान्वयनमा अझै केही समय लाग्न सक्ने बताए ।

टीपीएसको सवालमा मुद्दाको अन्तिम सुनुवाइसम्म र डीएचएसको निर्णय पूर्ण कार्यान्वयनमा जाँदासम्म करिब २ हजार ५ सय नेपालीलाई मात्र पूर्ण असर पर्न सक्ने उनको अनुमान छ । फुलाराले ७ हजार १ सय ६० टीपीएसवाहकमध्ये हाल करिब ५ हजारले कानुनी कागजातसहित बसोबासका लागि प्रक्रिया अघि बढाइरहेका छन् । २ हजार ५ सय मात्र टीपीएसमै रहेकाले उनीहरूलाई मात्र पूर्ण असर गर्न सक्ने फुलाराले बताए । हाल कायम रहेका नेपाली टीपीएसवाहकको आगामी बसाइको अवस्थाबारे अदालतको अन्तिम निर्णयमै निर्भर हुनुपर्ने फुलाराले प्रतिक्रिया दिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालका बेला २०१९ मा पनि टीपीएस खारेज प्रक्रिया अघि बढाएका थिए । यसपटक भने, टीपीएस पाएका १७ मध्ये नेपालसँगै तीन देशका नागरिकको टीपीएस अगस्त ५ मा खारेज गर्ने निर्णय गरिएको थियो । अमेरिकी सर्वोच्च अदालतको फैसलाअनुसार मे १९, २०२५ मा भेनेजुएलाका ७ लाख ९५ हजारमध्ये ४ लाख ७२ हजारको टीपीएस खारेज गरिएको नेसनल इमिग्रेसन फोरमले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यसैगरी नेपालीसँगै जुलाई १४, २०२५ मा अफगानिस्तानका १७ हजार ७ सय, अगस्त ४, २०२५ मा क्यामरुनका १० हजारको टीपीएस खारेजको निर्णय गरिएको थियो ।

ads/multiple-company-box-d-1022026053655.jpg
इमिग्रेसन फोरमको सूचीअनुसार डीएचएसले १२ वटा मुलुकका नागरिकको भने टीपीएस अवधि अझै कायम राखेको छ । होन्डुरसका ७६ हजार, निकारागुवाका ४ हजार, हाइटीका ४ लाख ७४ हजार, सिरियाका ८ हजार २ सय, साउथ सुडानका २ सय ८०, म्यानमारका ७ हजार ३ सय, इथियोपियाका १२ हजार ८ सय, यमनका ४ हजार, सोमालियाका ४ हजार ९ सय, एलसाल्भाडोरका २ लाख ३२ हजार, सुडानका ३ हजार ९ सय ५० र युक्रेनका १ लाख ३ हजार ७ सय जनाको टीपीएसको म्याद तत्काल सकिएको छैन ।

के हो टीपीएस ?

अमेरिकाभन्दा बाहिरी देशका नागरिकले आफूलाई आफ्नो देशमा बस्नका लागि सुरक्षित अवस्था नभएको पुष्टिपछि अमेरिकी सरकारले दिने अस्थायी संरक्षणको व्यवस्था नै टीपीएस हो । यो व्यवस्थामा सामेल हुने आप्रवासीका लागि अमेरिकी सरकारले अमेरिकामा बस्नका लागि अस्थायी संरक्षण दिँदै आएको छ ।

प्राकृतिक प्रकोप, द्वन्द्व, आन्दोलन र हिंसामा परेका वा शरणार्थी भएका आप्रवासीलाई सीमित अवधिका लागि अमेरिकी सरकारले अमेरिकामा बसोबास, रोजगार र सुरक्षित व्यवस्थासँगै संरक्षण दिने उद्देश्यले टीपीएसको योजना अघि सारेको थियो । अधिकांश नेपालीले नेपालमा गृहयुद्ध र भूकम्पको समयमा टीपीएस पाएका थिए । सन् १९९० मा पहिलो पटक तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसले टीपीएस व्यवस्था ल्याएपछि विभिन्न चरणमा १४ हजार ५ सय नेपालीले टीपीएस पाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघि डिसेम्बर २५, २०२३ सम्म टीपीएसवाहकका रूपमा रहेका १२ हजार ७ नेपालीमध्ये ५ हजार २ सयले आफ्नो बसोबासको प्रकृति परिवर्तन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...