— पश्चिम नवलपरासीमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा सजाय पाएका एक व्यक्तिलाई १५ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट १८ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका सुनवल नगरपालिका–१, सोमनाथका ५५ वर्षीय दलबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । २०६७ मंसिर ९ गते जिल्ला अदालत परासीले आगो लगाएर मानिसको हत्या गरेको अभियोग ठहर गर्दै चौधरीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो ।
हत्या गरेर लुकिछिपी भारतमा बस्दै आएका उनलाई घर आएको जानकारी पाएपछि प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी विरदत्त पन्तले बताए । पक्राउ परेका चौधरीलाई बुधबार नै जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ ।