— प्रतिनिधिसभाको फागुन २१ को निर्वाचन आवधिक नभई अत्यावश्यक भएकाले सम्पन्न गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । उनले सबै किसिमका चुनौती चिरेर फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने अवस्थामा आइपुगेको पनि बताए ।
निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकका सबै पक्ष लागेर निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
आयोग एक्लैले मात्रै चुनाव सम्पन्न गर्न नसक्ने धारणा राखेका हुन् । 'यो आवधिक निर्वाचन होइन, अग्रिम र अत्यावश्यक निर्वाचन हो । नगरी नहुने निर्वाचन हो,' उनले भने ।
मुलुकमा विभिन्न किसिमका चुनौतीलाई चिर्दै निर्वाचनको वातावरण बनेको भण्डारीको भनाइ थियो । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सञ्चार क्षेत्रलगायतका सबै सरोकारवालाले चुनावसम्बन्धी चुनौती चिर्दै मतदानको वातावरण बनाएको उनले बताए । बंगालदेशमा अस्थिरतापछि दुई वर्षमा मात्रै निर्वाचन सम्पन्न भएर स्थिर सरकार गठनको वातावरण बनेको उनको भनाइ थियो । तर, नेपाल भने दुई वर्षसम्म अन्योलमा रहन सक्ने अवस्था नरहेको उनले बताए ।
मुलुकमा शान्ति, स्थिरता र विकासका लागि पनि निर्वाचन अनिवार्य भएको भण्डारीले बताए । 'निर्वाचन शान्ति, प्रगति, समृद्धि, स्वच्छता, निष्पक्षता ल्याउनका लागि हो । मुलुकमा सुशासन प्रवाह गरेर विकास ल्याउन पनि हो । अहिले हामीले देखेका छौं, समाज कति भड्किएको थियो, लयबाट कति टाढा थियो । अनुशासन कति बेथितिमा थियो,' कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, 'हरेक परिवारभित्र विद्रोह थियो । बाबुआमाले भनेको केही छोराछोरीलाई चित्त बुझेन भने 'म त जेन-जी' भनेर बाबुआमासँग जाइलाग्ने परिस्थितिबाट बल्ल हामीले सहिष्णुतामा जम्मा गरेका छौं । सहिष्णुताको, शान्तिको साँचो, शान्तिको प्रतीक हरेक घरपरिवारको भित्र भित्र्याइदिनुपर्नेछ । निर्वाचन बाहेक अन्य मार्गबाट त्यो भित्रिँदैन । त्यसो भएर अनिवार्य निर्वाचनलाई सम्पन्न गर्नुपर्नेछ ।'
दलपिच्छेका धारणालाई एक ठाउँमा ल्याएर निर्वाचनको वातावरण बनाउन आयोग सफल भएको पनि भण्डारीले बताए ।
भण्डारीले निर्वाचनको वातावरण बनेको उल्लेख गर्दै त्यसलाई बिगार्न कसैले पनि लाग्न नहुने बताए । 'अहिले निर्वाचनको सङ्लो र स्वच्छ वातावरण बनेको छ, यसलाई धमिलो बनाउने काम कसैले पनि गर्नु हुँदैन । मुलुकलाई अप्ठ्यारो अवस्थाबाट चलायमान बनाउने माध्यम पनि निर्वाचन हो,' उनले भने ।