: बर्दियामा प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको छ। बारबर्दिया नगरपालिका वडा नम्बर ३ निवासी रामबहादुर सुनारको घरमा दुई साता अघि सुनका गरगहनासहित नगद चोरी भएको थियो।
प्रहरीले चोरीको आरोपमा बाँसगढी नगरपालिका वडा नम्बर ९ माछागढ स्थित न्यू अस्मिता सुनचाँदी पसल सञ्चालन गरी बस्ने ३४ वर्षीय मानबहादुर कसेरा र जिल्ला कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ४ निवासी ३४ बर्षिय इमराम हसनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए।
घरमा कोही नभएका बेला दिउँसै चोरिएको तिलहरी, मंगलसूत्र लगायतका सुनका गरगहनाहरू र नगद ६० हजार रुपैया प्रहरीले बरामद गरेको जनाएको छ। उनीहरूबाट चोरी भएको धनमाल रितपूर्वक बरामद गरी बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मल्लाको भनाइ छ।