— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारका क्रममा कपिलवस्तु आइपुगेका छन् । पार्टीको घण्टी अभिवादन कार्यक्रमअन्तर्गत बिहान ८ बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिका पिपराबाट आफ्नो अभियान सुरु गरेका थिए ।
अभियानको क्रममा जितपुरमा बोल्दै इतिहास रच्ने बेला आएकाले सबै चनाखो भई आफूहरुलाई जिताउन आग्रह गरे । उनले आफ्नो पार्टीले सरकार बनाएमा घण्टा घण्टामा भ्रष्टाचारविरुद्ध निगरानी गर्दै नेपाललाई भ्रष्टाचारमुक्त बनाउने बताए । 'तपाईंहरुका बीच कपिलवस्तुमा तीन उम्मेदवार दिएका छौं,' उनले भने, 'जिताएर पठाउनु भयो भने राम्रो काम गर्नेछन् । नराम्रो काम गरे, उनीहरुलाई यहीं ल्याएर छाड्छौं । उनीहरुलाई सजाय दिनुहोला ।'
उनी बैरिया, जितपुर, बोर्डगाउँ, बनगाई, गोरुसिंगे, इमिलिया हुँदै चन्द्रौटामा कार्यकर्ता भेटघाट गर्न जाँदै छन् । त्यसपछि विजयनगर, कृष्णनगर, बहादुरगन्ज, महाराजगन्ज, तौलिहवा, पकडी र लवनीमा कार्यकर्ता भेटघाट गर्दै रुपन्देही जानेछन् ।उनी पाल्पा, गुल्मी हुँदै अर्घाखाची पुगेर कपिलवस्तु आएका हुन् ।