: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ।
भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग सीमाना जोडिएका भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूबीच भएको संयुक्त बैठकले निर्वाचन अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कठोर सुरक्षा रणनीति अपनाउने निर्णय गरेको छ।
बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द गरिनेछ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनमा पूर्ण निषेध लगाइनेछ। मतदानका दिन निजी सवारी, सार्वजनिक यातायात, व्यवसायिक आवतजावत तथा अन्य नियमित गतिविधि रोकिने छन्। स्वास्थ्य सेवा, आपतकालीन उद्धार र सरकारी समन्वयका विशेष अवस्थाबाहेक अन्य कुनै पनि आवागमनलाई अनुमति नदिने स्पष्ट सहमति भएको छ। null
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार नेपाली पक्षले भारतीय सुरक्षा निकायसँग निर्वाचन प्रचारप्रसारका नाममा भारतीय सवारी साधनलाई नेपालमा प्रवेश नदिनलाई विशेष सहयोग मागेको छ। खुला सीमाको दुरुपयोग गर्दै निर्वाचन प्रभावित गर्ने गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गरी दुवै देशका सुरक्षा निकायबीच थप समन्वय गर्ने सहमति भएको जानकारी उनले दिए।
बैठकमा सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, संवेदनशील बिन्दुहरूमा निगरानी कडा पार्ने तथा सूचनाको आदानप्रदानलाई तीव्र बनाउने विषयमा पनि सहमति जुटेको छ। विशेषगरी निर्वाचनको समयमा तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता कानुनविपरीतका गतिविधि हुन सक्ने भन्दै सबैतिर कडाइ गर्ने प्रतिबद्धता दुई देशका सुरक्षा अधिकारीले गरेका छन्।
सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचन जस्तो संवेदनशील समयमा सीमापार आपराधिक गतिविधि बढ्ने जोखिम रहन्छ। खुला सीमाका कारण आवागमन सहज भए पनि त्यही सहजताको आडमा गैरकानुनी गतिविधिले मौका पाउने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आवश्यक ठानिएको हो। विभिन्न नाका तथा प्रमुख प्रवेश बिन्दुहरूमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच समन्वय गरी निगरानी बढाइनेछ। सीमा क्षेत्रमा सुरक्षा सक्रियता, सवारी जाँच, परिचयपत्र अनिवार्य जाँच तथा शंकास्पद गतिविधिमा तत्काल नियन्त्रण गर्ने योजना पनि अघि सारिएको छ।
बैठकले निर्वाचन अवधिभर सामाजिक सद्भाव कायम राख्ने, अफवाह नियन्त्रण गर्ने तथा सीमापार हुने कुनै पनि उक्साहटपूर्ण गतिविधि रोक्न दुवै देशका प्रशासनिक निकाय सक्रिय रहने सहमति पनि गरेको छ। सुरक्षा संयन्त्रबीचको समन्वयलाई निरन्तरता दिँदै आवश्यक परे थप बैठक आयोजना गर्ने समझदारी बनेको छ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सीमा सुरक्षा कडा पार्ने निर्णयलाई महत्वपूर्ण मानिएको छ। कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूमा विगतमा पनि निर्वाचनका बेला सीमा नाका अस्थायी रूपमा बन्द गर्ने अभ्यास रहेकाले यसपटक पनि सोही परम्परा अनुसार निर्णय गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सुरक्षाका हिसाबले विभिन्न निर्णयहरु भएको उनको भनाइ छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नियमको पूर्ण पालना गर्न र गराउन प्रशासनिक सक्रियता बढाइने बताए। सीमा क्षेत्रमा निर्वाचन लक्षित सुरक्षा सतर्कता बढाइएको जानकारी उनले दिए। नेपाल–भारत दुवै देशका सुरक्षा निकायबीचको सहमति शान्तिपूर्ण, स्वच्छ र भयमुक्त निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण हुने प्रजिअ कटेलले बताए।