: नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले ‘जनयुद्ध’को असफलताले जेनजी विद्रोह जन्मिएको दाबी गरेका छन्।
जनयुद्धले राज्यको माथिल्लो संरचनामा मात्र परिवर्तन गरेको तर जनजीवनमा ठोस सुधार नल्याएको बताएका छन्। उनका अनुसार आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका आधारभूत संरचनामा अपेक्षित बदलाव नभएकै कारण नयाँ पुस्तामा असन्तोष बढ्दै गएको छ।
उनले जनयुद्धको असफलताबाट जन्मिएको अर्को “कालो कालखण्ड” भ्रष्टाचार भएको दाबी गर्दै राज्यका संरचना, राजनीतिक दल र व्यवसायी क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप पनि लगाएका छन्। तत्कालीन माओवादीले जनयुद्धको नीति सरकारमा पुगेर लागु गर्न सकेको भए जेनजी विद्रोह हुने अवस्था नै नआउने उनको दाबी छ ।
शुक्रबार गृहजिल्ला रोल्पा पुगेका नेता विप्लवले सदरमुकाम लिबाङमा आयोजित पत्रकार बुद्धिजीवी र व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्। साथै जनयुद्धको खास प्रस्ताव र नीतिलाई पुष्पकमल दाहाल प्रचण्डले छाडेको समेत उनको आरोप छ ।
‘जनयुद्धले अघि सारेका नीति २०६४ सालमै खारेज गरियो। कसैलाई नभनेर जनयुद्धको प्रस्ताव र नीति खारेज गरियो'। नेता विप्लवले प्रचण्ड लक्षित गर्दै भने ।
तत्कालीन माओवादीका नेताहरु आर्थिक रुपमा विचलित भएको जिकीर गर्दै उनले केही नेता अर्बपति भएका र कतिपय नेताकाे काठमाडौंमा चारवटा सम्म घर रहेकाे बताए ।
पार्टी विभाजन नहुँदै प्रचण्डलाई पार्टीको नाममा बैंक खाता खोलेर पैसा राख्न प्रस्ताव गर्दा नमानेको उनले स्मरण गराए । उनले भने ‘त्यो बेला पार्टीलाई भरमार पैसा आईरहेको थियो। बैंक खाता खोलेर व्यवस्थित गरौं भन्दा मान्नु भएन्, घरमै करोडौं पैसा राखेको देखेको छु ।’,
साथै उनले रोल्पाको आधार क्षेत्र छोड्दा पार्टीलाई ६ किलो सुन र दुई करोड पैसा जिम्मा दिएर गएको समेत बताए । ‘त्यो सुन र पैसा खै ? भलै खर्च भयो होला । तर, समस्या त आयो नि ।’ उनले भने,
माओवादीको तत्कालीन नेतृत्वको असफलता र अन्य दलको राजनीति पूर्वाग्रहले जनयुद्धको मर्म लागु हुन नसक्दा जेनजी विद्रोह भएर देश चुनावमा जान बाध्य भएको उनको भनाई छ। तर जेनजीले खोजे जस्तो चुनाव नभएर मध्यावधि चुनाव जस्तो भईरहेको छ। चुनाव गराउनेले पनि औचित्य पुष्टि गर्न सकेको छैन । भाग लिनेमा पनि उत्साह छैन । ‘हामीले पनि विशिष्ट अवस्थामा चुनावमा भाग लिएका छौं। अमूल्य मत दिनुस्। एकपटक सच्चा मनले देश हाँक्ने मन छ ।’ नेता विप्लवले भने ।
तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीसँगको पार्टी एकता हुन नसक्नुमा माओवाद छाड्ने तर नेतृत्व नछाड्ने प्रवृत्ति भएको उनले बताए। ‘बाहिर तिर विप्लवले नेतृत्व र प्रधानमन्त्री दुवै दाबी गरेकाले एकता हुन नसकेको भ्रम फैलाईयो। त्यो गलत हो ।’ उनले भने ।
अन्य दलहरू शक्तिकेन्द्रको चंगुलमा फसेको संकेत गर्दै आफ्नो पार्टी कुनै शक्तिकेन्द्र निकट नरहेकाले आर्थिक नाकाबन्दीको सामना गरिरहेको बताएका छन्।
आफ्नै उत्पादनमार्फत आत्मनिर्भर बन्नु गौरवको विषय भएको उल्लेख गर्दै उनले रोल्पाको परिवर्तनका लागि ६ हजार बोट कफी उत्पादन कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन्।
विप्लव स्वयं रोल्पाबाट उम्मेदवार बन्ने चर्चा भए पनि अन्ततः पार्टी निर्णयअनुसार पछि हटेका थिए। त्यसपछि पार्टीले सहिद परिवारका चुडामणी वली ‘आदर्श’ लाई उम्मेदवार बनाएको छ।
चुनावी प्रचारका क्रममा रोल्पा पुगेका उनले यसपटक मत परिवर्तन गर्न आह्वान गरेका छन्। दुई दशकदेखि सम्पन्न हुन नसकेको सहिद मार्ग तत्काल पूरा गर्नुपर्ने, जलजला लाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने र जिल्लाको अर्थतन्त्र सुधारका लागि पहल आवश्यक रहेको उनले बताएका छन्। साथै, रोल्पामा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्न सकिने तर्क पनि उनको छ।